३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

कांग्रेस–एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

धनकुटामा कांग्रेस–एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

दुई पार्टीबीच समन्वय गरेर अघि बढ्ने निर्णय



धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ । श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा मंगलबार बसेको दुई दलका पदाधिकारीहरुको बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो । संयन्त्रमा कांग्रेस र एमालेबाट तीन÷तीन जना सहभागि भएका छन् । संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट सभापति दिनेश राई, उपसभापति सुनिल डंगोल र सचिव विजयसन्तोषी राई रहेका छन् । त्यस्तै, नेकपा एमालेबाट केन्द्रिय सदस्य राईसँगै जिल्ला अध्यक्ष शिव आङ्ला र सचिव पर्शुराम नेपाल संयन्त्रमा सहभागि भएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । यसैबीच, संयन्त्रको पहिलो बैठकले जिल्लामा दुई पार्टीबीच समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालनमा समझदारीपूर्ण वातावरण निर्माण गरेर काम गर्ने, महत्वपूर्ण विषयहरुमा साझा धारणा निर्माण गरेर अघि बढ्ने लगायत निर्णय भएको संयन्त्रका सदस्य एवं नेपाली कांगे्रेसका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।