२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

Radio Khabar Palika

पाख्रीबासमा छड्के बजार अनुगमन, २१ हजार रुपैयाँका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट



२२ असोज,धनकुटा । चाडपर्वलाई लक्षित गर्दै धनकुटाको पाख्रीबासमा छड्के बजार अनुगमन गरिएको छ। बिहीबार पाख्रीबास बजारमा सञ्चालनमा रहेका दुई होटल तथा १० वटा किराना र खुद्रा पसलमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा चामल, बिस्कुट, मसला, कोक, स्प्राइट, फेन्टा, मिरिन्डालगायत विभिन्न पेय पदार्थ तथा अन्य म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेका थिए। अनुगमन टोलीले करिब २१ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिए ।
अनुगमनका क्रममा कतिपय पसलमा मूल्यसूची नराखिएको समेत पाइएको थियो। त्यस्ता व्यवसायीलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी अर्जुन गिरीले बताए। म्याद गुज्रिएका खाद्यवस्तु बिक्री नगर्न व्यवसायीलाई सचेत गराउँदै त्यस्ता वस्तु बिक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार जरिवाना तथा कारबाही हुने जानकारीसमेत दिइएको उनले बताए। कतिपय पसल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले व्यवसाय सुधार गर्न समेत निर्देशन दिइएको छ। चाडपर्व नजिकिएसँगै बजारमा खाद्यवस्तुको माग र कारोबार बढ्ने भएकाले उपभोक्तालाई ठगी तथा गुणस्तरहीन वस्तुको बिक्रीबाट जोगाउन बजार अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ। बजार अनुगमन जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय पाख्रीबास तथा स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले गरेको हो।