एक करोड २० लाख लगानीमा स्कुलडाँडा र सल्लेरीमा ट्रिटमेन्ट प्लान्ट निर्माण अन्तिम चरणमा

३ मंसिर, धनकुटा । धनकुटा बजार क्षेत्रमा वितरण हुँदै आएको खानेपानीलाई थप स्वच्छ र सुरक्षित बनाउन दुईवटा ठूला खानेपानी प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनको तयारी गरिएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण गरिरहेका दुवै प्रशोधन प्रणालीको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

करिब एक करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेका यी दुई प्रशोधन प्रणाली सञ्चालनमा आएपछि प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिनेछ। यसबाट धनकुटा नगरपालिकाका वडा नम्बर ३, ४ र ६ का करिब १ हजार १ सय परिवारले प्रशोधित तथा स्वच्छ खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनका अनुसार दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उनले नयाँ प्रणाली सञ्चालनमा आएपछि बजार क्षेत्रमा वितरण हुने खानेपानीको गुणस्तर सुधार हुनुका साथै उपभोक्ताले स्वच्छ पानी पाउने बताए। यसअघि निर्माण गरिएका साना क्षमताका खानेपानी शुद्धीकरण प्रणाली पुराना हुँदै गएपछि नयाँ तथा आधुनिक प्रशोधन पूर्वाधार निर्माण थालिएको कार्यालयले जनाएको छ। बढ्दो सहरीकरण र खानेपानीको मागलाई ध्यानमा राख्दै प्रशोधन प्रणालीको क्षमता विस्तार गर्न लागिएको हो।दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म प्रत्येक घरपरिवारमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने लक्ष्यलाई समेत ध्यानमा राखेर खानेपानी पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको प्रमुख महर्जनको भनाइ छ। धनकुटा सदरमुकाममा धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ। समितिले बजार क्षेत्रका करिब चार हजार उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ। नयाँ प्रशोधन प्रणाली सञ्चालनमा आएपछि खानेपानीको शुद्धता र गुणस्तरमा सुधार आउने तथा उपभोक्ताले सुरक्षित खानेपानी पाउने अपेक्षा गरिएको छ।


