२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

Radio Khabar Palika

तिहारलाई लक्षित गर्दै धनकुटामा सयपत्री फूल खेती, बजारमा माग बढ्दै



२० कार्तिक,धनकुटा । फूलैफूलको पर्व तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ। तिहारमा घरआँगन, झ्यालढोका सजाउन, दिदीबहिनीले दाजुभाइलाई माला लगाइदिन तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यमा प्रयोग हुने सयपत्री फूलको माग बढेपछि धनकुटाका कृषक व्यावसायिक फूल खेतीमा व्यस्त लागेका छन ।

धनकुटाको महालक्ष्मी नगरपालिका–९ र छथरजोरपाटी गाउँपालिका–६ को सीमावर्ती क्षेत्रमा रहेको श्री पौडेल कृषि फर्मका सञ्चालक खगेन्द्र पौडेल यतिबेला सयपत्री फूल टिप्ने र बजार पठाउने काममा व्यस्त छन। करिब १० रोपनी क्षेत्रफलमा १२ हजार सयपत्रीका बिरुवा रोपेका पौडेलले यस वर्ष ७ देखि ८ हजारवटा फूलका माला उत्पादन हुने अपेक्षा गरेका छन। तिहारलाई लक्षित गरी गरिएको खेतीमा फूलको उत्पादन राम्रो देखिएपछि उनी उत्साहित छन । यसअघि तरकारी खेती गर्दै आएका पौडेलले फूल खेती कस्तो हुन्छ भन्ने जिज्ञासाले यस वर्ष पहिलोपटक सयपत्री खेती सुरु गरेका हुन । पहिलो प्रयासमै राम्रो उत्पादन र बजारमा माग देखिएपछि फूल खेतीलाई पनि आम्दानीको सम्भावनायुक्त व्यवसायका रूपमा लिएको उनले बताए । हाल उनले उत्पादित सयपत्री फूल प्रतिकेजी ३०० रुपैयाँका दरले बिक्री गरिरहेको जानकारी दिए । उनका अनुसार उत्पादित फूलको माग काठमाडौं, झापा, बिर्तामोड, बुटवल, विराटनगर र धरानलगायतका सहरबाट आउन थालेको छ। तिहारका बेला सयपत्री फूलको माग उच्च हुने गरे पनि स्वदेशमै पर्याप्त उत्पादन नहुँदा बजारमा बाहिरबाट समेत फूल आयात गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा स्थानीयस्तरमै फूल खेती विस्तार गर्न सके कृषकको आम्दानी बढाउनुका साथै फूलमा आत्मनिर्भर बन्नसमेत सहयोग पुग्ने देखिन्छ। परम्परागत तरकारी खेतीबाट फूल खेतीतर्फ आकर्षित भएका कृषक पौडेलको प्रयासले धनकुटामा व्यावसायिक कृषिको नयाँ सम्भावना देखाएको छ। मेहनत, लगनशीलता र बजारको मागलाई पहिचान गर्न सके आफ्नै गाउँघरमा पनि कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनको सयपत्री फूल खेती बनेको छ।