१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

Radio Khabar Palika

धनकुटाका भूतपूर्व सैनिकले भीमदल गणबाटै सम्मेलनका लागि विवरण दर्ता गर्न सक्ने



१६ कार्तिक, धनकुटा । नेपाली सेनाले भूतपूर्व सैनिकको पुनर्मिलन, सम्मान तथा कल्याणकारी सेवा प्रवाह गर्ने उद्देश्यले ‘भूतपूर्व सैनिक सम्मेलन–२०८३’ आयोजना गर्ने भएको छ। सम्मेलनअन्तर्गत धनकुटाका भूतपूर्व सैनिकले सदरमुकामस्थित भीमदल गणबाटै आफ्नो विवरण दर्ता गराउन सक्ने भएका छन्।

नेपाली सेनाको पूर्वी पृतना, इटहरीअन्तर्गत श्री नम्बर २ बाहिनी अड्डा हिले, धनकुटामा आगामी मंसिर १४ गते सम्मेलन आयोजना हुने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन धनकुटा जिल्लामा स्थायी बसोबास गरी जिल्लास्थित बैंकबाट पेन्सन बुझ्दै आएका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरण प्राप्त गरिरहेका व्यक्तिहरूले आवश्यक कागजातसहित भीमदल गणमा उपस्थित भएर विवरण दर्ता गराउन सक्ने गणले जनाएको छ।

गणका अनुसार सम्मेलनमा सहभागिताका लागि कात्तिक ८ गतेदेखि कात्तिक ३० गतेसम्म विवरण दर्ता गर्न सकिनेछ। गणमा स्वयं उपस्थित भएर वा नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइनबाट समेत दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ। विवरण दर्ता गर्न पेन्सनपट्टाको डिजिटल प्रति, पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ। सम्मेलनमा सहभागी भूतपूर्व सैनिकलाई सम्मान गर्नुका साथै उनीहरूको आवश्यकता र क्षमताका आधारमा ह्विलचेयर तथा वैशाखी वितरण, विपन्न तथा अशक्तलाई सहयोग, निःशुल्क स्वास्थ्य परीक्षण र आवश्यक औषधि वितरणलगायतका सेवा उपलब्ध गराइने नेपाली सेनाले जनाएको छ। वि.सं. २०७० साल असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलनलाई निरन्तरता दिँदै आएको छ। सेनामा आफ्नो जीवनको महत्त्वपूर्ण समय बिताएका भूतपूर्व सैनिकबीच पुनर्मिलन गराउने, उनीहरूको योगदानको सम्मान गर्ने तथा कल्याणकारी सेवा उपलब्ध गराउने उद्देश्यले सम्मेलन आयोजना हुँदै आएको हो।