
१३, कार्तिक,धनकुटा । धनकुटा नगरपालिका ३ कागतेमा सञ्चालित दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १८ लाख ९५ हजार १०० रुपैयाँ बक्यौता रहेको खुलेको छ। सहकारीका तत्कालीन व्यवस्थापक, सेयर सदस्य तथा दुग्ध व्यापारीबाट उक्त रकम उठ्न बाँकी रहेको संस्थाका अध्यक्ष मिनबहादुर कार्कीले जानकारी दिएका छन्। अध्यक्ष कार्कीका अनुसार सबैभन्दा बढी बक्यौता तत्कालीन व्यवस्थापक दुर्गा थापाको नाममा रहेको छ। थापाबाट १३ लाख १३ हजार ८१२ रुपैयाँ, अर्का तत्कालीन व्यवस्थापक उद्धव भण्डारीबाट ८८ हजार ९५३ रुपैयाँ, सेयर सदस्य खिरबहादुर कार्कीबाट ३ लाख ९१ हजार ९३४ रुपैयाँ र दुग्ध व्यापारी टीका कार्कीबाट ६५ हजार रुपैयाँ असुल हुन बाँकी छ। अध्यक्ष कार्कीका अनुसार पूर्वव्यवस्थापक दुर्गा थापाले २०८१ भदौ १२ गते छ महिनाभित्र साँवा र ब्याज बुझाउने लिखित सहमति गरेकी थिइन्। तर, सहमति गरेको समय बितिसक्दा पनि रकम फिर्ता नगरेको उनले बताए।

त्यस्तै, अर्का पूर्वव्यवस्थापक उद्धव भण्डारीले २०८० जेठदेखि मासिक न्यूनतम पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकम बुझाउँदै दुई वर्षभित्र बक्यौता चुक्ता गर्ने लिखित सहमति गरेका थिए। तर, उनले पनि सहमतिअनुसार रकम नबुझाएको अध्यक्ष कार्कीको भनाइ छ। सेयर सदस्य खिरबहादुर कार्की भने हाल सहकारीको सम्पर्कमा नरहेको बताइएको छ। उनकी श्रीमतीले सहकारीलाई दूध उपलब्ध गराउँदै त्यसबापत प्राप्त रकमबाट केही भुक्तानी गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिए।
सहकारीले बक्यौता रकम असुलीका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ। सहकारीका सल्लाहकार समिति सदस्य लक्ष्मण घिमिरेका अनुसार सम्बन्धित व्यक्तिहरूले बक्यौता घटाउने प्रतिबद्धता जनाए पनि व्यवहारमा रकम भुक्तानी गरेका छैनन्। “तिर्दैनौँ भनेका छैनन्, तिर्छु भन्छन् तर तिर्दैनन्,” उनले भने। २०५० सालदेखि सञ्चालनमा आएको उक्त सहकारीले स्थानीय किसानबाट दूध संकलन गरी धनकुटा बजार तथा दुग्ध विकास संस्थान (डीडीसी)लाई बिक्री गर्दै आएको छ। बक्यौता रकम असुल हुन नसक्दा सहकारी आर्थिक समस्यामा परेको भए पनि किसानबाट खरिद गरिएको दूधको भुक्तानी भने नियमित रूपमा उपलब्ध गराउँदै आएको व्यवस्थापक गणेश न्यौपानेले बताए।
