२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

Radio Khabar Palika

महालक्ष्मी नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र सेवा सुरु



२६ असोज,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–जितपुरस्थित नगरपालिकाको कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउने सेवा सुरु भएको छ। नगरपालिकाले सोमबारदेखि सेवा सञ्चालनमा ल्याएसँगै परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको हो। यसअघि राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम पुग्नुपर्ने हुँदा ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक तथा टाढाका बस्तीमा बसोबास गर्ने सेवाग्राहीलाई समस्या हुँदै आएको थियो। स्थानीय तहमै सेवा सुरु भएपछि नागरिकलाई परिचयपत्र बनाउन सहज हुने महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले जानकारी दिए ।
नेपाल सरकारले विभिन्न सरकारी सेवा तथा सुविधामा राष्ट्रिय परिचयपत्रको प्रयोग विस्तार गर्दै लगेपछि यसको महत्त्व बढ्दै गएको छ। यस्तो अवस्थामा नगरपालिकाबाटै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सरकारी सेवा प्रवाह थप सहज हुने विश्वास गरिएको प्रमुख रायाले बताए ।राष्ट्रिय परिचयपत्र बनाउन इच्छुक नागरिकले आवश्यक प्रक्रिया तथा कागजातसम्बन्धी जानकारी नगरपालिकाको सम्बन्धित शाखाबाट लिन सक्ने उनले बताए ।