
धनकुटा, मंसिर ९ ।
पत्रकारलाई पक्राउ गरेर प्रेसको आवाज दबाउन खोजिएको भन्दै नेपाल पत्रकार महासंघ धनकुटाले सरकारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेको छ। पत्रकारमाथि पटकपटक धरपकड गर्नुभन्दा सबै पत्रकारलाई एकैपटक सामूहिक गिरफ्तार गर्न चुनौती दिँदै महासंघले बुधबार जिल्ला प्रशासन कार्यालय धनकुटाअगाडि धर्ना दिएको हो।
‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित दिउँसो ३ बजे आयोजित धर्नामार्फत पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेका छन्।
सरकारको आलोचना गर्ने समाचार लेखेकै आधारमा पत्रकार र सञ्चारमाध्यममाथि धरपकड तथा दबाब सिर्जना गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौती भएको महासंघको ठहर छ। पत्रकारको काम सत्ताको प्रशंसा गर्नु नभई सरकारका कामकारबाहीमाथि निगरानी राख्नु, कमजोरी औँल्याउनु र नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्नु रहेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले बताए ।

