
२४ असोज, धनकुटा । धनकुटास्थित निजामती आवासीय विद्यालयमा ३६ जना विद्यार्थीलाई सहभागी गराएर सञ्चालन गरिएको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स तथा कोडिङसम्बन्धी छदिने तालिम सम्पन्न भएको छ।
पीआई इनोभेसन्स विराटनगरका प्रशिक्षक मनोज रेग्मी र नयन निरौलाले असोज १९ देखि २४ गतेसम्म दैनिक चार घण्टा तालिम दिएका थिए। तालिममा विद्यार्थीलाई स्मार्ट ब्लाइन्ड स्टिक, ब्लुटुथ कन्ट्रोल कार, ग्यास डिटेक्सन सिस्टम, स्मार्ट डस्टबिन, स्वचालित सिँचाइ प्रणाली, अवरोध पहिचान गर्ने रोबोट र ट्राफिक लाइट निर्माणसम्बन्धी अभ्यास गराइएको थियो।
तालिमको अन्तिम दिन विद्यार्थीले निर्माण गरेका सामग्रीको प्रदर्शनी गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, गोकुण्डेश्वर बालमन्दिर विद्यालयका प्रधानाध्यापक दामोदर मिश्र र अभिभावक हिमसागर कार्कीलगायतले सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए। विद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले एआई तथा प्रविधिसम्बन्धी ज्ञान वर्तमान समयमा आवश्यक बन्दै गएको उल्लेख गर्दै विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्नु महत्त्वपूर्ण रहेको बताए।
