
२९ असोज, धनकुटा । नेपालीका ठूला चाडपर्व नजिकिएसँगै धनकुटामा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसैक्रममा साँगुरीगढी गाउँपालिकाको केन्द्र तथा पूर्वको पर्यटकीय स्थल भेडेटार बजारमा छड्के अनुगमन गरिएको छ।
अनुगमनका क्रममा भेडेटारका २४ होटल र चार किराना पसलको निरीक्षण गरी सुधार गर्न निर्देशन दिइएको छ। होटल तथा पसलमा फेला परेका १३ हजार ४२० रुपैयाँ बराबरका म्याद गुज्रिएका पेय पदार्थ तथा खाद्यवस्तु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ। कार्यालयका प्रमुख माधव बास्तोलाका अनुसार अधिकांश किराना पसललाई व्यवसाय सञ्चालनमा आवश्यक सुधार गर्न निर्देशन दिइएको छ। दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न, सामान खरिद गर्दा उपभोग्य मिति जाँच गर्न तथा उपभोक्तालाई बिक्री गर्दा पनि म्यादको ख्याल गर्न आग्रह गरिएको छ। म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गरेको पाइएका पसललाई आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन चेतावनीसमेत दिइएको छ। जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले अनुगमन गरेको हो। दैनिक उपभोग्य वस्तुको खरिद–बिक्रीमा उपभोक्ता नठगिऊन् र खाद्यवस्तुको गुणस्तर कायम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ। यसअघि प्रशासनले धनकुटा र पाख्रिबास बजारमा पनि चाडपर्वलक्षित अनुगमन गरेको थियो। ती बजारका ३० पसलमा गरिएको अनुगमनका क्रममा २४ हजार ५० रुपैयाँ बराबरका अखाद्य वस्तु जफत गरिएको थियो।

