३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

Radio Khabar Palika

संविधान दिवस तथा राष्ट्रिय दिवसमा धनकुटामा विविध कार्यक्रम गरिने



३१ भदौ, धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला समन्वय समितिको कार्यालय धनकुटामा सम्पन्न बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राईले जानकारी दिईन ।
बैठकले आगामी असोज २ गते जिल्लास्थित सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय तथा परिसरमा राष्ट्रिय झण्डा फहराउने र कार्यालय परिसर सरसफाइ गरी साँझ दीपावली गर्ने निर्णय गरेको छ।


त्यसैगरी असोज ३ गते दिउँसो ३ बजे धनकुटा बसपार्कबाट राजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ता, सरकारी कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मी, संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, पत्रकार तथा सञ्चारकर्मीलगायतको सहभागितामा र्‍याली निकालिने भएको छ। र्‍यालीसहित धनकुटा बजारको टुँडिखेल जाने र टुँडिखेलमा सरसफाइ गरेपछि साँझ दीपावली गरी कार्यक्रम समापन गर्ने निर्णय गरिएको उप्रमुख राईले जानकारी दिईन । कार्यक्रमका लागि आवश्यक व्यानर, सरसफाइ सामग्री, दीप प्रज्वलन सामग्रीलगायतको व्यवस्थापन धनकुटा नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको छ।
यसैगरी जिल्लास्थित सञ्चारमाध्यमहरूले असोज २ र ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ सँग सम्बन्धित परिसंवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन तथा प्रसारण गर्ने निर्णयसमेत गरिएको छ। बैठकमा दिवसलाई नागरिकको व्यापक सहभागितामा मनाउने तथा संविधान र राष्ट्रिय दिवसको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको उप्रमुख राईले जानकारी दिईन ।