
२२ भदौ,धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन्। संघको १८औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा बस्नेतले ४८ मत प्राप्त गर्दै प्रतिस्पर्धी यज्ञबहादुर राईलाई १५ मतको अन्तरले पराजित गरेका हुन्।

बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका सञ्चालक यज्ञबहादुर राईले ३३ मत प्राप्त गरे। बस्नेत महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक हुन्। प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई निर्वाचित भएका छन्। उनले ४९ मत प्राप्त गर्दा प्रतिस्पर्धी अस्मी एण्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार राईले ३३ मत पाए। त्यस्तै, द्वितीय उपाध्यक्षमा साइमन कन्स्ट्रक्सन प्रालिका सरन तामाङ निर्वाचित भएका छन्। तामाङले ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्याम कन्स्ट्रक्सनका गणेश गुरुङले ३३ मत प्राप्त गरे। महासचिवमा इष्ट बीएन कन्स्ट्रक्सनका बलबहादुर राई र सचिवमा कास्टिङ कन्स्ट्रक्सनका चन्द्रसिंह लिम्बू निर्विरोध निर्वाचित भएका छन्। सह–कोषाध्यक्षमा बीबी कन्स्ट्रक्सनका दिनेश राई पनि निर्विरोध चयन भएका छन्। कोषाध्यक्ष पदमा भने राई निर्माण सेवाका सुवास राई निर्वाचित भएका छन्। उनले ५६ मत प्राप्त गर्दै प्रतिस्पर्धी टी एण्ड टी बन्धु कन्स्ट्रक्सनका टंकबहादुर कार्कीलाई पराजित गरे। कार्कीले २५ मत प्राप्त गरे। संघको नयाँ कार्यसमिति सदस्यमा अविनाश श्रेष्ठ, विष्णु पौडेल, राजकुमार कार्की, लक्ष्मण विश्वकर्मा, सुवन श्रेष्ठ, सुवास तामाङ र सुन्दर तामाङ निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक खगेन्द्रप्रसाद घिमिरेका अनुसार १४ सदस्यीय नयाँ कार्यसमितिका चार पदका लागि मात्र मतदान भएको थियो। अन्य पदमा उम्मेदवारी निर्विरोध भएपछि मतदान गर्नुपरेन। नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशन शनिबार सुरु भएको थियो। अधिवेशनअन्तर्गत आइतबार राति मतदान तथा मतगणना सम्पन्न भएपछि नयाँ कार्यसमिति चयन गरिएको हो। संघमा कुल ९६ जना मतदाता रहेकोमा ८२ मत खसेको निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए।
