१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

Radio Khabar Palika

बाढीपहिरो पीडितका लागि धनकुटा निर्माण व्यवसायी संघद्वारा एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग



१८ भदौ, धनकुटा । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भदौ १० गते आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल निर्माण व्यवसायी संघ धनकुटाले आर्थिक सहयोग गरेको छ।
संघले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै पीडितहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो। उक्त रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको सम्बन्धित राहत कोषको खातामा जम्मा गरिएको संघका अध्यक्ष प्रकाशकुमार थुलुङले जानकारी दिए । सहयोग रकम जम्मा गरेको भौचरको प्रतिलिपिसहित जिल्ला प्रशासन कार्यालय धनकुटालाई जानकारी गराइएको संघले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपहिरोपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा नेपाल निर्माण व्यवसायी संघ धनकुटाले पनि सहयोग गरेको महासचिव मनोज राईले जानकारी दिए । विपद्को यस कठिन समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै संघको तर्फबाट सहयोग गरेको राईले जानकारी दिए ।