
२१ बैशाख, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई लक्षित गरी बारिस्टा (कफी बनाउने) तालिम सुरु गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय, धनकुटाको आयोजनामा आजबाट सञ्चालन भएको १५ दिने तालिममा निर्वाचन सुरक्षामा खटिएका १७ जना निर्वाचन प्रहरी सहभागी छन्। तालिममार्फत सहभागीहरूलाई कफी बनाउने सीप, कफीको गुणस्तर व्यवस्थापन, ग्राहक सेवा तथा साना उद्यम सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ। निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई सीपमूलक तालिममार्फत अतिरिक्त आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले जानकारी दिए । खड्काले यस्ता तालिमले स्वरोजगार प्रवर्द्धनमा टेवा पुर्याउने र स्थानीय स्तरमै व्यवसाय विस्तारको सम्भावना बढाउने बताए।

तालिमपश्चात सहभागीहरू कफी व्यवसाय सञ्चालन गर्न सक्षम हुने विश्वास लिइएको घरेलु तथा साना उद्योग कार्यालय, धनकुटाका प्रमुख मेघराज बस्नेतले बताए । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो, कान्तिपुर संवाददाता विनोद घिमिरे तथा छथर जोरपाटी गाउँपालिका–६ का कार्यवाहक अध्यक्ष ढुण्डीराज थापा लगायतको उपस्थिति रहेको थियो।

