७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

Radio Khabar Palika

१३ औँ रारा गोल्ड कपबाट ५ लाखभन्दा बढी नाफा,पारदर्शिताको उदाहरण बनेको रारा गोल्ड कप



विदुर खवास

पारदर्शिताको अभ्याससँगै १३ औँ रारा गोल्ड कपले ५ लाखभन्दा बढी बचत ग¥यो

  • धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीमा सम्पन्न १३ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ बाट आयोजक रारा फुटबल क्लबले आय–व्यय सार्वजनिक गर्दै ५ लाख ३५ हजार ५ सय ५६ रुपैयाँ नाफा भएको जनाएको छ । कुल ३८ लाख ८ हजार ७ सय ४५ रुपैयाँ आम्दानी र ३३ लाख ७३ हजार १ सय ८९ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
  • प्रतियोगितामा गाउँपालिकाबाट १४ लाख रुपैयाँ अनुदान, गेट टिकटबाट ११ लाख ४ हजार रुपैयाँ, संघसंस्था, प्रायोजक तथा अन्य सहयोगबाट उल्लेख्य रकम संकलन भएको आयोजकले जनाएको छ । खर्चतर्फ पुरस्कार, टिम व्यवस्थापन, मैदान व्यवस्थापन तथा खाना–आवास प्रमुख शीर्षक रहेका छन् ।
  • प्रतियोगिता सम्पन्न भएपछि आय–व्यय सार्वजनिक गर्ने अभ्यास कम देखिने अवस्थामा रारा गोल्ड कपले नाफासहित वित्तीय विवरण सार्वजनिक गरेर खेलकुद क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको सन्देश दिएको छ ।

७ जेठ, २०८३। स्थानीय तहदेखि खेलकुद प्रतियोगितासम्म सार्वजनिक कार्यक्रमहरू सम्पन्न भएपछि खर्चको विवरण सार्वजनिक नहुने गुनासो नयाँ भने होइन । प्रतियोगिता सकिन्छ, विजेता घोषित हुन्छन्, तर आयोजकले आम्दानी–खर्चको हिसाब सार्वजनिक नगर्ने अभ्यासले प्रश्न पनि उठाउने गरेको छ ।
यही परिवेशमा धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीमा सम्पन्न १३ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिता २०८३ ले फरक अभ्यास देखाएको छ । प्रतियोगिता सम्पन्न भएको केही समयपछि आयोजक रारा फुटबल क्लब राजारानीले सार्वजनिक कार्यक्रममार्फत आय–व्यय विवरण सार्वजनिक गर्दै प्रतियोगिताबाट भएको नाफासमेत भएको खुलाएको छ । बुधबार सार्वजनिक गरिएको विवरणअनुसार प्रतियोगिताबाट ५ लाख ३५ हजार ५ सय ५६ रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ । कुल ३८ लाख ८ हजार ७ सय ४५ रुपैयाँ आम्दानी हुँदा ३३ लाख ७३ हजार १ सय ८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।


आयतर्फ हेर्दा प्रतियोगिताका लागि चौबिसे गाउँपालिकाबाट १४ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । खानेपानी तथा बजार व्यवस्थापन समिति राजारानीबाट १ लाख ९४ हजार २ सय ४५ रुपैयाँ सहयोग प्राप्त भएको आयोजक क्लवका अध्यक्ष मणी चेम्जोङ्गले जानकारी दिए । त्यस्तै, गेट टिकट बिक्रीबाट मात्रै ११ लाख ४ हजार रुपैयाँ संकलन भएको क्लबका सचिव जीवन कटुवालले जानकारी दिए । यसले प्रतियोगिताप्रति स्थानीय दर्शकको आकर्षण र सहभागिता दुवै देखाएको उनको भनाई छ । यसैगरी प्रायोजक तथा सह–प्रायोजकबाट १ लाख ८५ हजार ५ सय रुपैयाँ, अग्नि वसुन्धरा स्मृति प्रतिष्ठानबाट ७५ हजार रुपैयाँ तथा संघसंस्था र व्यक्तिगत चन्दा सहयोगबाट ६ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उल्लेख उनको भनाइ छ । उनले कबोल रकम वापत प्राप्त हुन बाँकी ३ लाख रुपैयाँ समेत आयतर्फ समावेश गरिएको जानकारी दिए । खर्चतर्फ सबैभन्दा ठूलो हिस्सा पुरस्कार वितरणमा ९ लाख २९ हजार रुपैयाँ खर्च भएको छ । त्यसपछि टिम व्यवस्थापनमा ६ लाख २५ हजार रुपैयाँ, मैदान व्यवस्थापनमा ४ लाख ६८ हजार ३ सय २४ रुपैयाँ, तथा खाजा, खाना र आवासमा ३ लाख ११ हजार ६ सय ८० रुपैयाँ खर्च गरिएको आयोजकको भनाई छ ।

त्यस्तै स्वयंसेवक खर्च, निर्णायक भत्ता, सूचना तथा सञ्चार, खेल सामग्री, पानी व्यवस्थापन, मेडल–ट्रफी, स्टेशनरी, इन्धन तथा यातायात लगायतका शीर्षकमा पनि रकम खर्च भएको विवरण सार्वजनिक गरिएको छ । आयोजकले अनुमानित कर कट्टी शीर्षकमा २ लाख ८० हजार रुपैयाँ समावेश गरेको जनाएको छ । खर्च सार्वजनिक कार्यक्रम रारा फुटबल क्लबका अध्यक्ष मणिकुमार लिम्बू को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा चौबिसे गाउँपालिका–६ का वडा अध्यक्ष आशिष लिम्बू, चौबिसे खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर खजुम लिम्बू लगायतको उपस्थिति रहेको थियो। गत वैशाख १८ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड झापा फुटबल क्लबले आयोजक राजारानीलाई पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगिताको प्रथम पुरस्कार ७ लाख रुपैयाँ नगद रहेको थियो, जुन जिल्लाकै उच्च पुरस्कार राशी भएको फुटबल प्रतियोगितामध्ये एक मानिन्छ । रारा गोल्ड कपले यसपटक खेल मात्रै आयोजना गरेन, आय–व्यय सार्वजनिक गरेर खेलकुदमा पारदर्शिता पनि सम्भव छ भन्ने सन्देश दिएको छ ।