
ई–लाइब्रेरी र अपाङ्गता सहायता केन्द्र प्रयोगविहीन
लाखौंका उपकरण जडान गरिए पनि प्राविधिक जनशक्ति, बजेट र व्यवस्थापन अभावका कारण दुवै संरचना प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्।
समावेशी र प्रविधिमैत्री शिक्षामा असर
ई–लाइब्रेरी तथा अपाङ्गता सहायता केन्द्र उपयोग नहुँदा विद्यार्थीले अपेक्षित सेवा पाएका छैनन् भने आधुनिक अध्ययन प्रणाली र समावेशी शिक्षाको लक्ष्य प्रभावित भएको छ।
सुधारका लागि अनुगमन र सक्रियता आवश्यक
विद्यार्थी, व्यवस्थापन समिति र सरोकारवालाले अभिमुखीकरण, पहुँच विस्तार, अनुगमन तथा प्रभावकारी सञ्चालनमार्फत संरचनालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन्।
१६ बैशाख, धनकुटा ।
विद्यार्थीलाई आधुनिक र समावेशी शिक्षा दिने उद्देश्यले स्थापना गरिएका धनकुटा बहुमुखी क्याम्पसका विद्युतीय पुस्तकालय र अपाङ्गता विद्यार्थी सहायता केन्द्र प्रभावकारी सञ्चालन नहुँदा प्रयोगविहीन अवस्थामा पुगेका छन्। लाखौं मूल्यका उपकरण जडान गरिए पनि व्यवस्थापन, जनशक्ति र बजेट अभावका कारण दुवै संरचना उद्देश्यअनुसार उपयोग हुन नसकेका हुन्।

करिब एक दशकअघि स्थापना गरिएको विद्युतीय पुस्तकालय ई–बुक, जर्नल, रिसर्च पेपर र अनलाइन डाटाबेसमार्फत अध्ययन–अध्यापनलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित सुरु गरिएको थियो। पुस्तकालयमा २० वटा कम्प्युटर, इन्टरनेट र अन्य विद्युतीय उपकरण भए पनि नियमित सञ्चालन हुन सकेको छैन।

क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.श्यामप्रसाद वाग्लेले आवश्यक प्राविधिक जनशक्ति अभाव मुख्य समस्या रहेको बताए। उनका अनुसार अधिकृतस्तरको लाइब्रेरियन नहुँदा पुरानै जनशक्तिबाट सामान्य काम मात्रै चलाइएको छ। यस्तै, फरक क्षमता भएका विद्यार्थीलाई समान शैक्षिक अवसर दिने उद्देश्यले चार वर्षअघि स्थापना गरिएको अपाङ्गता विद्यार्थी सहायता केन्द्र पनि सञ्चालनविहीन बनेको छ। दाताको सहयोगमा स्थापना गरिएको केन्द्रमा कम्प्युटर, डिजिटल डिस्प्ले, सहायक उपकरण र अपाङ्गमैत्री पूर्वाधार भए पनि प्रयोगमा आउन सकेको छैन। केन्द्रमा व्हिलचेयर पुग्ने सहज पहुँचसमेत नभएको पाइएको छ।

क्याम्पस प्रमुख होमबहादुर बस्नेतले उपकरण आए पनि सञ्चालनका लागि बजेट अभावका कारण केन्द्र चलाउन नसकिएको स्वीकार गरे। प्रयोग नहुँदा केही उपकरण अन्य शाखामा सारिएको र केही प्राध्यापकले प्रयोग गरिरहेको उनले बताए। विद्यार्थी पक्षले भने संरचना बनेर मात्र नपुग्ने, त्यसको उपयोग सुनिश्चित हुनुपर्ने बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापति युवा तिम्सिनाले विद्यार्थीमा प्रविधि प्रयोग संस्कार विकास गर्न क्याम्पस प्रशासनले अभिमुखीकरण र पहुँच विस्तार गर्नुपर्ने बताए। यो विषयले क्याम्पस व्यवस्थापनको भूमिकामाथि पनि प्रश्न उठाएको छ। व्यवस्थापन समितिका पदेन सदस्य तथा धनकुटा नगरपालिका–६ का वडाध्यक्ष मिलनकुमार खड्गीले आफूलाई प्राय बैठकमै नबोलाइएको गुनासो गर्दै व्यवस्थापन कमजोर देखिएको बताए। उता क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा कोशी प्रदेशसभा सदस्य निरन राईले क्याम्पसको शैक्षिक र व्यवस्थापकीय सुधारका लागि अनुगमन र अध्ययन आवश्यक रहेको बताउँदै सरोकारवालासहित निरीक्षणमा जाने जानकारी दिए। धनकुटा बहुमुखी क्याम्पसमा संरचना निर्माण भए पनि उपयोग सुनिश्चित नहुँदा आधुनिक अध्ययन प्रणाली र समावेशी शिक्षाको लक्ष्य नै प्रभावित भएको छ। सरोकारवालाले संरचना जोगाउने मात्र होइन, तिनलाई कार्यान्वयनमा ल्याउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन।


