
विदुर खवास
- धनकुटाको चौबिसे गाउँपालिका ले गुलाफ खेतीलाई कृषि, पर्यटन र ग्रामीण उद्यमशीलतासँग जोड्दै “गुलाफ पार्क” अभियान सञ्चालन गरेको छ। अहिले १८ प्रजातिका गुलाफसहित करिब १० रोपनी क्षेत्रफलमा नर्सरी विस्तार गरिएको छ।
- राजारानी, मुढेबास, सौरे र छनम्बर बुधबारे सीमसार क्षेत्रलाई गुलाफ बगैंचासँग जोडेर फूलले सजिएका पदमार्ग, फोटो स्पट र मौसमी उद्यान निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना गाउँपालिकाले अघि सारेको छ।
- “हरेक घरमा गुलाफ बगैंचा” अभियानमार्फत घरआँगन सुन्दर बनाउने, वातावरण संरक्षण गर्ने र स्थानीय उत्पादनलाई पाहुना स्वागत तथा सांस्कृतिक प्रयोगसँग जोड्ने प्रयास गरिएको छ।
- गुलाफ खेतीबाट कट–फ्लावर, माला, पुष्पगुच्छा तथा सौन्दर्यजन्य सामग्री उत्पादन गरी स्थानीय रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाका अनुसार धरान र विराटनगरजस्ता सहरमा गुलाफको माग बढ्दो छ।
१ जेठ, धनकुटा । पहाडका हरिया डाँडाकाँडा, शीतल हावा र प्राकृतिक सौन्दर्यले परिचित धनकुटाको चौबिसे गाउँपालिका अब गुलाफको सुगन्धले थप चिनिन थालेको छ। गाउँपालिकाले गुलाफ खेतीलाई फूल उत्पादनको सीमित कार्यक्रमका रूपमा मात्र होइन, कृषि, पर्यटन र ग्रामीण उद्यमशीलतालाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि सारेपछि यहाँका बस्तीमा नयाँ उत्साह थपिएको हो ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको “गुलाफ पार्क” कार्यक्रम अहिले स्थानीय स्तरमै चर्चा बटुलिरहेको छ। घरआँगन सजाउने परम्परागत फूललाई व्यावसायिक खेतीमा रूपान्तरण गर्दै गाउँपालिकाले किसानको आम्दानी बढाउने र पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको ।गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले जानकारी दिए । अहिले गाउँपालिकाले मौसमअनुसार फूल्ने १८ प्रजातिका गुलाफ संकलन गरी नर्सरी स्थापना गरेको छ। रातो, पहेँलो, सेतोसहित विभिन्न रङका गुलाफका बिरुवाले नर्सरी रंगीन बनेको छ। यस वर्ष मात्रै करिब १० रोपनी क्षेत्रफलमा गुलाफ नर्सरी विस्तार गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चित्रञ्जन यादव ले जानकारी दिए।

चौबिसेको राजारानी, मुढेबास, सौरे तथा छनम्बर बुधबारे सीमसार क्षेत्र यसअघि नै प्राकृतिक सौन्दर्य र पर्यापर्यटनका लागि परिचित मानिन्छन्। अब ती क्षेत्रलाई गुलाफ बगैंचासँग जोडेर थप आकर्षक बनाउने योजना गाउँपालिकाको छ। फूलले सजिएका पदमार्ग, फोटो खिच्ने स्थल र मौसमी गुलाफ उद्यानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष चेम्जोङ्गको भनाई छ । उनले गुलाफ खेतीलाई कृषि उत्पादनसँगै पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा अघि सारिएको बताए । “हामी गाउँलाई प्राकृतिक सौन्दर्यसँगै फूलको पहिचान दिने योजनामा छौं,” उनले भने, “यसले स्थानीय उत्पादन, पर्यटन र रोजगारी तीनवटै क्षेत्रमा प्रभाव पार्नेछ।”

गाउँपालिकाले “हरेक घरमा गुलाफ बगैंचा” अवधारणासमेत अघि बढाएको छ। घरआँगन सुन्दर बनाउने, पाहुनाको स्वागत संस्कृतिलाई स्थानीय उत्पादनसँग जोड्ने र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले अभियानलाई जनस्तरसम्म विस्तार गरिएको कृषि शाखा प्रमुख यादव बताउँछन्।गुलाफ खेतीलाई पालिकाले आर्थिक संमृद्धीको रूपमा पनि हेरेको छ। विवाह, सभा–समारोह, होटल, धार्मिक कार्यक्रम तथा उपहार संस्कृतिमा गुलाफको प्रयोग बढ्दै जाँदा बजारको सम्भावना पनि विस्तार भइरहेको गाउँपालिकाले जनाएको छ । धरान, विराटनगरलगायत सहरमा गुलाफको ठूलो माग छ। अहिले नेपालमा प्रयोग हुने धेरै फूल तथा पुष्पगुच्छा बाहिरबाट आयात हुने भएकाले स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्यसमेत राखिएको गाउँपालिकाका अध्यक्ष चेम्जोङ्गले जानकारी दिए । प्रदेश सरकारको सहयोग र गाउँपालिकाको लगानीमा आधुनिक नर्सरी, प्राविधिक तालिम तथा बजार व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जानकारी दिए ।

गुलाफ खेती कम क्षेत्रफलमै राम्रो आम्दानी दिने व्यवसाय भएको कृषि शाखा प्रमुख यादवको भनाई छ । एकपटक व्यवस्थित बगैंचा स्थापना गरेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले यसलाई किसानका लागि आकर्षक विकल्पका रूपमा हेरेको उनको भनाई छ । गुलाफबाट कट–फ्लावर, माला, पुष्पगुच्छा तथा सौन्दर्यजन्य सामग्री उत्पादन गर्न सकिने हुँदा स्थानीय स्तरमै रोजगारी सिर्जना हुने उनको भनाई छ । पहाडका गाउँहरूबाट युवाशक्ति बाहिरिने क्रम बढिरहेका बेला चौबिसे गाउँपालिकाले गुलाफलाई गाउँमै सम्भावना खोज्ने माध्यमका रूपमा अघि सारेको छ। प्राकृतिक सौन्दर्य र सुगन्धसँगै आर्थिक सम्भावना जोडिएको यो अभियान सफल भए चौबिसे गाउपालिका भविष्यमा “गुलाफको गाउँपालिका” का रूपमा चिनिन सक्ने स्थानीयको विश्वास छ।


