
१५ असोज,धनकुटा । धनकुटामा सञ्चालन गरिएको निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरबाट ९ सय ७२ जनाले शल्यक्रिया तथा उपचार सेवा पाएका छन्। सात दिनसम्म सञ्चालन भएको शिविरमा १ हजार १७ जनाले नाम दर्ता गराएका थिए।
जिल्ला अस्पताल धनकुटामा सञ्चालन भएको शिविरमा ७६ जनाको जटिल शल्यक्रिया, ४ सय ५३ जनाको सामान्य शल्यक्रिया, ४ सय ४१ जनाको स्क्रिनिङ तथा उपचार र दुई जनालाई कृत्रिम हात प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
शिविरमा हर्निया, हाइड्रोसिल, पित्तथैली, पाठेघर खसेको समस्या, जनरल सर्जरी तथा फिस्टुलालगायतका समस्याको शल्यक्रिया गरिएको थियो। त्यस्तै नाक–कान–घाँटीसम्बन्धी समस्या लगायतका बिरामीलाई पनि उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा धनकुटा नगरपालिकाबाट सबैभन्दा बढी ५ सय ६६ जनाले नाम दर्ता गराएका थिए।

तीमध्ये ५ सय ५६ जनाले शल्यक्रिया तथा उपचार सेवा पाएका छन्। त्यसैगरी पाख्रिबासबाट १ सय १०, छथरजोरपाटीबाट ७८, महालक्ष्मीबाट ७१, सहिदभूमिबाट ७२, साँगुरीगढीबाट २९ र चौबिसेबाट २५ जनाले नाम दर्ता गराउको आयोजकले जनाएको छ । अन्य जिल्लाबाट समेत ६६ जना उपचारका लागि आएका थिए।
आर्थिक अभावका कारण शल्यक्रिया तथा उपचार गराउन नसकेका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले जिल्लाका साथै आसपासका क्षेत्रका नागरिकलाई समेत राहत पुर्याएको छ।अलोहा मेडिकल मिसन, हवाई, अमेरिकाको प्राविधिक सहयोग तथा जिल्ला अस्पताल धनकुटाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो।

