१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

Radio Khabar Palika

धनकुटाकी एकमात्र महिला ईभी चालक कुशला राई सम्मानित



१५ साउन,धनकुटा । धनकुटामा लामो दूरीको विद्युतीय (ईभी) सवारी चलाउने एकमात्र महिला चालक कुशला राईलाई सम्मान गरिएको छ।

धनकुटा नगरपालिका ६ नम्बर वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाको संयुक्त आयोजनामा बिहीबार गोठगाउँमा आयोजित कार्यक्रममा राईलाई फूलमाला, अविर तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो। शहीदभूमि गाउँपालिका–४ की स्थायी बासिन्दा राई हाल धनकुटाबाट धरान–इटहरीसम्म नियमित रूपमा लामो दूरीको ईभी सवारी सञ्चालन गर्दै आएकी छन्। उनी धनकुटामा लामो दूरीको ईभी सवारी चलाउने एकमात्र महिला चालकका रूपमा परिचित छिन्। मार्गेश्वरी टोल विकास संस्थाकी अध्यक्ष तथा धनकुटा नगर कार्यपालिका सदस्य रेजिना हिङ्माङले पुरुषको वर्चस्व रहेको सवारी चालक पेशामा महिलाले साहसिक रूपमा आफ्नो पहिचान बनाएको भन्दै सम्मान गरिएको बताइन्। उनले राईले अन्य महिलालाई पनि आत्मनिर्भर र आत्मविश्वासी बन्न प्रेरणा दिएको उल्लेख गरिन्। राईले दैनिक महालक्ष्मी नगरपालिका–चानुवाको डाँडागाउँबाट लेगुवा, पाख्रीबास, हिले, धनकुटा, धरान हुँदै इटहरीसम्म ईभी सवारी सञ्चालन गर्दै आएकी छन्। करिब दुई वर्षदेखि सवारी चलाउँदै आएकी उनले पछिल्लो एक महिनादेखि लामो दूरीको नियमित सेवा सञ्चालन गरिरहेकी छन्। सम्मानपछि राईले महिला चालकको रूपमा समाजबाट पाएको हौसला र सम्मानले अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताइन्। उनले महिलाले चाहे जुनसुकै पेशामा पनि सफल हुन सक्ने सन्देश दिन आफू निरन्तर मेहनत गरिरहेको उल्लेख गरिन्। पछिल्लो समय पहाडी क्षेत्रमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि लामो दूरीका अधिकांश सवारी पुरुष चालकले काम गर्दै आएका छन्। यस्तो अवस्थामा धनकुटामा महिला चालकको रूपमा कुशला राईको सक्रियता उदाहरणीय बनेको स्थानीयवासीको भनाइ छ।