१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

Radio Khabar Palika

मौलिक सिर्जना हराउँदै, गन्धर्व संगीतको पहिचान संकटमा



विदुर खवास

कुनै समय गाउँघरमा सूचना, सन्देश र मनोरञ्जनको भरपर्दो माध्यम मानिएको गन्धर्व संगीत पछिल्लो समय मौलिकता गुमाउँदै संकटतर्फ धकेलिँदै जाने हो की भन्ने चिन्ता बढेको छ। कृत्रिमता, गैर–सृजनशीलता र आधुनिक गीतसंगीतको नक्कल गर्ने प्रवृत्तिले परम्परागत गन्धर्व गायनको पहिचान र व्यावसायिक अस्तित्व दुवै कमजोर बन्दै गएको जानकारहरु बताउछन ।

सारङ्गीको सुरसँगै जनजीवनका कथा, पीडा, संघर्ष, इतिहास र सामाजिक यथार्थ बोकेर गाउँ–गाउँ डुल्ने गन्धर्व समुदाय अहिले त्यो मौलिक भूमिकाबाट टाढिँदै गएको देखिन्छ। आधुनिक सञ्चारमाध्यम र प्रविधिको प्रभावसँगै गन्धर्व गायनमा पनि परम्परागत सृजनाभन्दा लोकप्रिय आधुनिक गीतको नक्कल गर्ने प्रवृत्ति बढ्दा यसको मौलिक स्वरूप संकटमा परेको भोजुरका बाबुराम गन्धर्व बताउछन ।पहिले गन्धर्वहरू गाउँघर, बस्ती र कुना–कन्दरासम्म पुगेर लोकभोगाइ, भवितव्य, आकस्मिक घटना, वीरताका गाथा, राजनीतिक उतारचढाव र जनजीविकाका कथालाई सारङ्गीमार्फत जीवन्त बनाउँथे। यही विशेषताले गन्धर्व गायनलाई अन्य संगीत परम्पराबाट अलग पहिचान दिएको थियो। तर अहिले शहरकेन्द्रित गुजारामुखी अभ्यास, सजिलो बाटो रोज्ने प्रवृत्ति र मौलिक सिर्जनामा घट्दो लगानीका कारण त्यो परम्परा कमजोर बन्दै गएको भोजपुर जरायोटारका तेजेन्द्र गन्धर्व बताउछन ।

धनकुटाका सर्जक कृष्णगोविन्द चेम्जोङका अनुसार गन्धर्वहरूले आफ्नोपन छोडेर आधुनिकताको नक्कलमा बढी केन्द्रित हुँदा सृजनशीलता नै खुम्चिँदै गएको छ। ग्रामीण जनजीवनका झर्रा शब्द, स्थानीय मर्म र भोगाइलाई गीतमा रूपान्तरण गर्ने पुरानो परम्परा कमजोर बन्दा गन्धर्व संगीतको आत्मा नै हराउने खतरा देखिएको उनको भनाइ छ।
गन्धर्व संगीत केवल मनोरञ्जनको माध्यम नभई नेपाली समाजको मौखिक इतिहास र सांस्कृतिक दस्तावेजका रूपमा पनि हेरिन्छ। यसले पुस्तौँदेखि सामाजिक चेतना, सूचना प्रवाह र सांस्कृतिक निरन्तरता कायम राख्न भूमिका खेलेको थियो। तर अहिले नयाँ पुस्ताको घट्दो आकर्षण, पेशागत असुरक्षा, बजारको दबाब र संस्थागत संरक्षणको अभावले यो परम्परा थप चुनौतीमा परेको भोजपुरका हिरालाल गन्धर्वले दुखेसो पोखे । विशेषगरी मौलिक सिर्जनाभन्दा लोकप्रियता र बजारलाई प्राथमिकता दिने प्रवृत्तिले गन्धर्व संगीतको मूल चरित्रमाथि असर गरेको उनको भनाई छ । परम्परागत अभ्यासमा मेहनत, अध्ययन र जीवन भोगाइको अनुभव आवश्यक पर्थ्यो, तर अहिले नयाँ पुस्ताले सजिलो बाटो मात्रै रोजेको कारण गन्धर्व संगीतको मूल गहिराइ हराउँदै गएको उनको टिप्पणी छ।

सरोकारवालाले गन्धर्व संगीतको संरक्षणका लागि राज्य, स्थानीय तह, सांस्कृतिक संस्था र समुदायस्तरबाट समन्वित पहल आवश्यक रहेको औंल्याएका छन्। मौलिक सिर्जनाको अभिलेखीकरण, नयाँ पुस्तामा सीप हस्तान्तरण, प्रशिक्षण, अध्ययन–अनुसन्धान तथा सांस्कृतिक कार्यक्रममार्फत प्रवर्द्धन गर्न सके यो परम्परालाई पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरिएको छ। गन्धर्व संगीतको संरक्षणका लागि समयमै संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा ध्यान नदिने हो भने गन्धर्व संगीतको पहिचान नै हराउने जोखिम बढ्न सक्छ। नेपाली लोकसंस्कृतिको अमूल्य सम्पदाको रूपमा रहेको गन्धर्व समुदायको मौलिक सिर्जना जोगाउनु अहिलेको आवश्यकता मात्र नभई सांस्कृतिक दायित्वसमेत बनेको छ।