२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

Radio Khabar Palika

धनकुटामा ‘जय नेपाल यात्रा २०८३’ अन्तर्गत विशेष अन्तरसंवाद कार्यक्रम आयोजना हुँदै



१७ जेठ, धनकुटा । जय नेपाल फाउन्डेसन, धनकुटाले आफ्नो राष्ट्रिय अभियान ‘जय नेपाल यात्रा २०८३’ अन्तर्गत धनकुटामा विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमको पूर्वसन्ध्यामा फाउन्डेसनले पत्रकार तथा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै सहभागी हुन आग्रह गरेको छ।
फाउन्डेसनका अनुसार विगत लामो समयदेखि लोकतान्त्रिक समाजवाद, सुशासन, आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका विषयमा वैचारिक र रचनात्मक बहस गर्दै आएको संस्थाले सकारात्मक सोचको विकास तथा निराशाको अन्त्य गर्ने उद्देश्यसहित ‘जय नेपाल यात्रा २०८३’ अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने क्रममा धनकुटाबाट अभियानको सुरुवात गर्न लागिएको जनाइएको छ।
नेपालको वर्तमान आर्थिक अवस्था, युवापलायनको चुनौती तथा राजनीतिक दलहरूको नीतिगत स्पष्टताको आवश्यकतालाई केन्द्रमा राख्दै कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ। कार्यक्रममा आर्थिक र सामाजिक रूपान्तरणका विषयमा विशेष छलफल गरिने जनाईएको छ ।


कार्यक्रममा उत्पादनमुखी संस्कृतिको विकास, स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक नीतिमा राष्ट्रिय हितलाई केन्द्रमा राख्ने विषय समावेश गरीएको छ । यस्तै, नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवादको अवधारणा र वर्तमान राजनीतिक–आर्थिक परिवेशमा आर्थिक क्रान्तिको मार्गचित्रबारे पनि अन्तरसंवाद गरिने बताइएको छ। फाउन्डेसनले यस कार्यक्रमले स्थानीय तहमा आर्थिक सचेतना फैलाउनुका साथै राजनीतिक वृत्तमा नयाँ वैचारिक बहस सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।
फाउन्डेसनका धनकुटा संयोजक खेम पौडेलले सम्पूर्ण सञ्चारकर्मी, राजनीतिकर्मी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।