२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

Radio Khabar Palika

सडनडेथमा आयोजकलाई रोक्दै बेलबारी च्याम्पियन, पदम भट्टराई बने प्लेयर अफ द टुर्नामेन्ट



१६ जेठ, धनकुटा । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ। घरेलु टोली आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई रोमाञ्चक ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले धनकुटाको प्रतिष्ठित गोल्डकप आफ्नो नाममा लेखाएको हो।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि नतिजा ट्राइब्रेकरबाट टुंगिएको थियो। ट्राइब्रेकरमा बेलबारीका खेलाडीहरूले उत्कृष्ट संयमता देखाउँदा आयोजक टोलीका दुई प्रहार असफल भएपछि उपाधि बेलबारीको पोल्टामा परेको हो। बेलबारीका सोलोमान किंग, शिशिर लेखी, मुतियु, विशाल थिङ र श्याम मुरमुरले गोल गरेका थिए। आयोजकका गोलकिपर प्रिसुले विवेक पौडेलको प्रहार रोके पनि त्यो बेलबारीको जित रोक्न पर्याप्त भएन। आयोजकतर्फ विवेक गुरुङ, फेमी, ओलायामी ताइव र प्रिसोले गोल गरे भने राम वाजीको प्रहार बेलबारीका गोलकिपर अजय परियारले बचाए। पृथ्वी चौधरीको प्रहार पोस्ट बाहिरिएपछि आयोजकको उपाधि सपना अधुरै रह्यो। उपाधिसँगै बेलबारीले नगद ६ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले नगद ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ आयोजक टोलीका पदम भट्टराई ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदै २५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए। यस्तै बेलबारीका अजय परियार उत्कृष्ट गोलकिपर, महेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक तथा सोलोमान किंग सर्वाधिक गोलकर्ता घोषित भए। आयोजकका राम वाजी उत्कृष्ट मिडफिल्डर चुनिए। उनीहरूले जनही ११ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।

आयोजक टोलीकै प्रतीक थापा मगर प्रतियोगिताको उदयमान खेलाडी घोषित हुँदै ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कारबाट सम्मानित भए। फाइनल खेलको प्लेयर अफ द म्याच भने बेलबारीका विवेक पौडेल घोषित भए। उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। फाइनलअघि आयोजक टोलीले सेमिफाइनलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै उपाधि यात्रा तय गरेको थियो। बेलबारीले भने अर्को सेमिफाइनलमा उपाधिको बलियो दाबेदार मानिएको बिर्तामोड युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। खेलपछिको पुरस्कार वितरण समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ ले विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।