२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

Radio Khabar Palika

खडेरीले सुकायो मकै, बिउ जोगाउने चिन्तामा धनकुटाका किसान



विदुर खवास

२३ जेठ,धनकुटा । धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान यतिबेला दोहोरो संकटमा परेका छन्। केही समयअघि फौजी किराको प्रकोप झेलेका उनीहरू अहिले लामो खडेरीको मार खेप्न बाध्य छन्। वर्षा नहुँदा मकैबाली सुक्न थालेपछि किसानहरूलाई यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षका लागि बिउ जोगाउने चिन्तासमेत थपिएको छ।

वैशाखयता पर्याप्त वर्षा नहुँदा पाख्रीबास नगरपालिका–५ अन्तर्गत डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवा लगायतका क्षेत्रका खेतबारीमा हरियाली देखिनुपर्ने मकैका बोट पहेँलिँदै सुक्न थालेका छन्। कतिपय बारीमा मकैका बोट परालजस्तै बनेका छन् भने किसानहरू निराश बनेका छन्।

गैरीगाउँका किसान कुमार तामाङले पाँच रोपनी क्षेत्रफलमा लगाएको मकैबाली लगभग नष्ट भएको बताए। “यो वर्ष त बिउसमेत जोगाउन सकिँदैन जस्तो छ,” उनले दुःख व्यक्त गर्दै भने, “चैतमा थोरै पानी परे पनि त्यसपछि वर्षा भएको छैन। मकै मात्र होइन, पशुचौपायालाई खुवाउने घाँससमेत सुक्न थालेको छ।”

स्थानीय किसान गोपालबहादुर थापाका अनुसार मकैमा दाना लाग्ने महत्वपूर्ण समयमा परेको चर्को घामले बालीलाई गम्भीर क्षति पुर्‍याएको छ। “मुखमुख धानचमरा आउने बेला थियो, तर खडेरीले सबै मकै सुकायो,” उनले भने। उनका अनुसार कतिपय किसानले बिरुवा नै मरेपछि गोडमेल गर्नसमेत छाडेका छन्। “अब पानी परे पनि उत्पादन हुने आशा देखिँदैन,” उनले थपे। खडेरीको असर यति गम्भीर बनेको छ कि केही स्थानमा किसानहरूले मकै छर्नसमेत पाएका छैनन्। खोलाखर्क क्षेत्रका किसान डायन्द्रबहादुर कार्कीले पर्याप्त चिस्यान नहुँदा बारी जोत्न र मकै छर्न नसकिएको बताए। “अघिल्ला वर्षहरूमा यही समयमा मकैले खेत हरियाली बनाइसकेको हुन्थ्यो, अहिले भने छर्नका लागि समेत पानी परेको छैन,” उनले भने। उनका अनुसार मकैसँगै फलफूलका बिरुवा र अन्य खेतीबालीसमेत ओइलाउन थालेका छन्।

कृषिमा निर्भर स्थानीयहरूका लागि खडेरीको प्रभाव मकैमा मात्र सीमित छैन। आकाशे पानीमा निर्भर अधिकांश क्षेत्रमा बर्खे धानको तयारीसमेत प्रभावित भएको छ। मङ्सिरमा पाक्ने धानका लागि यतिबेला ब्याड राखिसक्नुपर्ने भए पनि पर्याप्त पानी नहुँदा धेरै किसानले धानको ब्याड तयार गर्न सकेका छैनन्। समयमै वर्षा नभए धान उत्पादनमा समेत असर पर्ने चिन्ता बढेको छ। यस्तै अवस्था महालक्ष्मी नगरपालिकाको लेगुवा र सालघारी क्षेत्रमा पनि देखिएको छ। त्यहाँका मकैबाली क्रमशः सुक्दै गएका छन्। अरुण नदीपारि भोजपुरको अरुण गाउँपालिकाका जरायोटार लगायतका क्षेत्रमा पनि लामो समयदेखि पानी नपर्दा किसान समस्यामा परेका छन्। कतिपयले मकै छर्नै नपाएको र उम्रिएका बिरुवा समेत सुक्न थालेको बताएका छन्। किसानहरूका अनुसार उत्पादन घट्ने चिन्ता त छँदैछ, तर अझ ठूलो समस्या आगामी वर्षका लागि आवश्यक बिउ अभाव हुन सक्ने सम्भावना हो। यदि यही अवस्था कायम रहे धेरै किसानले अर्को वर्ष खेती गर्नसमेत कठिनाइ भोग्नुपर्ने देखिन्छ। स्थानीयवासी र किसानहरूले सम्बन्धित निकायसँग खडेरी प्रभावित क्षेत्रको अनुगमन, राहत तथा वैकल्पिक बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। आकाशतिर आशाको नजर लगाएर बसेका किसानहरू अहिले समयमै पानी पर्ने प्रतीक्षामा छन्।