१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

Radio Khabar Palika

सामुदायिक वनमा काठ उपयोग गर्न नीतिगत समस्या छ ः मन्त्री पराजुली



१८ जेठ, धनकुटा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली ले नीतिगत तथा कानुनी जटिलताका कारण सामुदायिक वनमा रहेका काठको उपयोग गर्न समस्या भइरहेको बताएका छन्।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धनकुटाले आयोजना गरेको सामुदायिक वन सचेतना कार्यक्रममा सहभागी हुन धनकुटा आएका मन्त्री पराजुलीले प्रदेश सरकार वनसम्बन्धी कानुन र नीतिगत सुधारका लागि पहल गरिरहेको जानकारी दिए।

उनले सामुदायिक वनमा उपलब्ध काठको उपभोग तथा व्यवस्थापनमा देखिएका समस्याले वन क्षेत्रको आर्थिक सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न नसकिएको बताए। मन्त्री पराजुलीले सामुदायिक वनलाई उत्पादन र रोजगारीसँग जोड्ने गरी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै मन्त्रालयले नीतिगत अवरोधका कारण अपेक्षाअनुसार काम गर्न नसकेको बताए।

प्रदेश सरकारले वनबाट उत्पादित काठको दररेट निर्धारण गर्ने विषयमा समेत छलफल अगाडि बढाएको उनको भनाइ थियो। उनले प्रदेश सरकारद्वारा सञ्चालन हुने योजनाहरूमा अधिकतम रूपमा काठको उपयोग गर्ने नीति अवलम्बन गरिएको बताउँदै यसले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। सामुदायिक वन संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले वन क्षेत्रमा उत्पादनमुखी बिरुवा रोप्न उपभोक्ताहरूलाई आग्रह गरे।

पर्यटन प्रवर्द्धनका विषयमा बोल्दै मन्त्री पराजुलीले पर्यटकीय क्षेत्रहरूको सम्भावना र आवश्यकताका आधारमा प्रदेश सरकारले योजना तर्जुमा गरी काम गरिरहेको बताए। “वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने मूल नारासहित सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धनकुटाले आफ्नो ३१औँ स्थापना दिवस छथर जोरपाटी गाउँपालिकाको सहयोगमा सिंधुवामा मनाएको हो। कार्यक्रममा सामुदायिक वन संरक्षण, व्यवस्थापन तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका ६ जना व्यक्तिलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा वन उपभोक्ता, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।