
२२ जेठ, धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुथा वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
“समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्दै वन संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रममा बोल्दै सहभागीहरूले वातावरण संरक्षण एक दिनको अभियान नभई दैनिक जीवनशैलीसँग जोडिएको विषय भएकाले वृक्षरोपणसँगै वन तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रम, छथरजोरपाटी गाउँपालिकाको समन्वय तथा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाको सहकार्यमा सञ्चालन गरिएको थियो। जलवायु परिवर्तनका चुनौती बढिरहेका बेला वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम राख्न यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले जानकारी दिए ।


