
१५ माघ २०८१,महोत्तरी ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले महोत्तरीको जलेश्वरस्थित भन्सार कार्यालयको अनुगमन गरेको छ ।
भन्सार कार्यालयहरुबाट हुने राजस्व संकलनलाई थप व्यवस्थित बनाउन कानुन निर्माण गर्नका लागि अर्थ समितिका सदस्यहरुले मंगलबार जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेका हुन । उनीहरुले कार्यालयका कर्मचारी र सरोकारवलाहरुसंग अन्तरक्रिया समेत गरेका छन । अन्तरक्रियामा सिमा क्षेत्रमा हुने तस्करी, विभिन्न सामानहरुको चेकजाँच गर्ने प्रक्रिया, भन्सार चेकजाँचलगायतमा हुने समस्याहरुको बारेमा छलफल भएको छ ।

छलफल पश्चात अर्थ समितिका सदस्य एवम अनुगमन टोलीको संयोजक नारायणी शर्माले छोटी भन्सारबाट हुने चोरी निकासी, स्थानीय सरकारले भन्सार कार्यालयमा दिने सिफारिस र तेस्रो मुलुकसम्म सामान आयात निर्यात गर्न देखिएका समस्याहरुलाई कानुन निर्माण गरेर समाधान गर्नेतर्फ लाग्ने बताईन। अनुगमन टोलीले जलेश्वर भन्सारको अनुगमन गर्नुका साथै धनुषाको जटही नाकाकोसमेत अनुगमन गरेको थियो ।