२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

Radio Khabar Palika

स्थानीय बीउ जोगाउने ‘जिन बैंक’ धनकुटा नगरपालिकालाई हस्तान्तरण



२१ असोज, धनकुटा । परम्परागत, रैथाने तथा स्थानीय बीउ लोप हुने जोखिम बढिरहेका बेला धनकुटामा स्थापना गरिएको ‘जिन बैंक’ धनकुटा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। हुसाडेक नेपाल धनकुटाले नगरपालिका र यूएनडीपीसँगको सहकार्यमा स्थापना गरेको जिन बैंकमा हालसम्म २५ भन्दा बढी प्रजातिका करिब ७० जातका रैथाने बीउ सङ्कलन गरिएको छ। स्थानीय तथा रैथाने बीउ संरक्षण गर्ने उद्देश्यले धनकुटा नगरपालिका परिसरमा स्थापना गरिएको जिन बैंक धनकुटा नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको परियोजना समापन तथा प्रगति समीक्षा कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज थापाले जिन बैंक नगर प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गरे। हुसाडेक नेपालले गत चैतदेखि स्थानीय रूपमा खेती हुँदै आएका तर पछिल्लो समय खेतीको चलनबाट हराउँदै गएका विभिन्न बालीका बीउ सङ्कलन गर्दै आएको जनाएको छ। हालसम्म बेलगुटी, बासमती, तौलीलगायतका रैथाने धानका जातसँगै फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुङ्गे, सौंफ, तोरी, चमसुर, गहुँ, मकै, आलस, रातो तथा कालो दाल, भटमास, घिरौँला, काक्रा, सेतो–रातो तिल, बकुल्ला, रातो–सेतो मकै, माझी बोडी तथा विभिन्न रैथाने कोदोलगायतका बीउ सङ्कलन गरिएको छ। कार्यक्रममा ‘राइस परियोजना’ समेत समापन भएको जानकारी दिइएको छ। करिब ४६ हजार अमेरिकी डलरको लागतमा सञ्चालन गरिएको परियोजनाअन्तर्गत धनकुटा नगरपालिकाका विभिन्न क्षेत्रमा सोयल सिमेन्ट प्रविधिका पोखरी निर्माण, जिन बैंक स्थापना, माछापालन, समुदायमा आधारित कृषि पर्यटन, भू जल पुनर्भरण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका क्षेत्रमा काम गरिएको परियोजना प्रमुख नवीन भट्टराईले जानकारी दिए।