
२ असोज, धनकुटा । धनकुटामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले साना–साना प्रतियोगिताबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने बताएका छन्। उनले धनकुटामा सुरु भएको प्रतियोगिता सरकारी बजेटबाट नभई खेलाडी तथा खेलप्रेमीको पहलमा रकम संकलन गरेर आयोजना गरिएको भन्दै आयोजकको प्रशंसा गरे।
मन्त्री पराजुलीले गाउँ–गाउँमा हुने यस्ता प्रतियोगितालाई प्रोत्साहन गर्न संघीय सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताए। प्रदेश सरकारले पनि यस्ता खेलकुद गतिविधिलाई सहयोग गर्ने तयारी गरिरहेको उनको भनाइ थियो।

शटल धनकुटा स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ प्रदेशस्तरीय ‘बी लेभल’, जिल्लास्तरीय ‘बी लेभल’ र खुला भेट्रान्स राष्ट्रिय लेभल गरी तीन विधामा प्रतिस्पर्धा भइरहेको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीनवटै विधामा गरी १ सय १० खेलाडी सहभागी रहेको आयोजक समितिका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए।
धनकुटाका विभिन्न स्थानीय तह, वडा तथा व्यक्तिहरूको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगिता धनकुटाको बहुउद्देश्यीय सामुदायिक हलमा सञ्चालन भइरहेको छ।प्रदेशस्तरीय बी लेभल र खुला भेट्रान्स राष्ट्रिय लेभलका विजेताले ट्रफी तथा मेडलसहित प्रथम हुनेले ४० हजार, दोस्रोले २६ हजार र तेस्रो हुनेले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, जिल्लास्तरीय बी लेभलका विजेताले ट्रफी तथा मेडलसहित प्रथमले ३० हजार, दोस्रोले १८ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।



