निरन्तरताका लागि सबै पक्षको साथ र सहयोग आवश्यक ः स्वास्थ्य मन्त्री पराजुली
एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा १६ लाख ४५ हजार रुपैयाँ सहयोग संकलन

- धनकुटा अस्पतालमा स्थापना भएको ११३ वर्षपछि पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ।
- कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले केन्द्र उद्घाटन गर्दै यसको निरन्तरताका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए।
- एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा देश–विदेशमा रहेका नेपालीबाट १६ लाख ४५ हजार ४२८ रुपैयाँ सहयोग संकलन भएको छ।
- केन्द्र सञ्चालनमा आएपछि रगतका लागि सुनसरी र मोरङलगायतका जिल्लामा धाउनुपर्ने धनकुटेलीको बाध्यता हट्ने अपेक्षा गरिएको छ।

१९ भदौ,धनकुटा । विसं १९७० सालमा स्थापना भएको धनकुटा जिल्ला अस्पतालमा ११३ वर्षपछि पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ। करिब डेढ दशकअघि पनि ब्लड बैंक सञ्चालनको प्रयास भए पनि सफल हुन नसकेकोमा लामो प्रयासपछि मापदण्ड पूरा गरी औपचारिक रूपमा रक्तसञ्चार सेवा सुरु गरिएको हो। कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले शनिबार आयोजित विशेष समारोहबीच रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा मन्त्री पराजुलीले रक्तसञ्चार सेवा केन्द्रलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए। अस्पताल र रक्तसञ्चार केन्द्रबीच महत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनले ऐतिहासिक धनकुटा अस्पतालको सेवा विस्तारका लागि केन्द्र सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न आफू निरन्तर पहलमा रहेको बताउँदै चाँडै धनकुटेली जनताको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे। “विगतदेखि नै यस कार्यमा जुटिरहेको छु,” उनले भने, “विभागीय मन्त्रीसमेत भएकाले अब यसमा आफ्नो पहल अझ बढ्नेछ।” आवश्यक मापदण्डअनुसार भवन, जनशक्ति र उपकरणको व्यवस्था भएपछि रक्तसञ्चार सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। हाल धनकुटा जिल्ला अस्पताल ५० शय्यामा सञ्चालनमा रहे पनि राज्यबाट भने १५ शय्याका लागि मात्र आवश्यक सेवा, सुविधा र जनशक्ति उपलब्ध हुँदै आएको छ। प्रारम्भिक चरणमा आवश्यक बजेट जुटेपछि रक्तसञ्चार सेवा सञ्चालन गर्न सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताए। उनका अनुसार केन्द्रमा चौबीसै घण्टा परिचालन हुने गरी चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको छ भने आवश्यक उपकरणसमेत तयारी अवस्थामा राखिएको छ।

रक्तसञ्चार केन्द्रका लागि मापदण्डअनुसार चार कोठे भवन निर्माण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाले आवश्यक स्वीकृति लिएपछि सेवा सञ्चालनमा आएको जिल्ला अध्यक्ष छत्रकुमार श्रेष्ठले जानकारी दिए। “लामो समयपछिको प्रयास अब सार्थक भएको छ,” श्रेष्ठले भने, “यसको निरन्तरताका लागि आवश्यक सामग्री र अन्य व्यवस्थापनमा जनस्तर तथा स्थानीय तहसँग समन्वय गरिनेछ।” रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएपछि रगतको आवश्यकता पर्दा बिरामी तथा आफन्तले सुनसरी र मोरङलगायतका जिल्लामा धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री निरन राई, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायत राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभकामना दिएका थिए।

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग गर्ने समाजसेवी राजेन्द्रकुमार राउत, द्रोणप्रसाद गुरागाईं, विजयसन्तोषी राई, विदुर खवास लगायत सहयोगदातालाई कार्यक्रममा सम्मान गरिएको थियो। उद्घाटनको अवसरमा १५ जनाले रक्तदानसमेत गरेका थिए।

एनआरएनएको पहलमा १६ लाख ४५ हजार सहयोग
रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न संघसंस्थाबाट १६ लाख ४५ हजार ४२८ रुपैयाँ सहयोग संकलन भएको छ। एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरिएको हो। नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाले अस्पताल विकास समितिसँगको समन्वयमा सुरु गरेको अभियानमा एनआरएनएका विभिन्न राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग आबद्ध व्यक्ति तथा विभिन्न देशमा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो। अमेरिका, जापान, चीन, अष्ट्रेलिया, हङकङ, फिलिपिन्सलगायत विभिन्न देशमा रहेका नेपाली तथा संस्थाबाट सहयोग प्राप्त भएको राउतले जानकारी दिए । उपलब्ध विवरणअनुसार एनआरएनए आईसीसी जर्मनीका पूर्व प्याट्रोन रामप्रताप थापाबाट ४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। अमेरिकाबाट २ लाख ६ हजारभन्दा बढी, जापानबाट २ लाख, किर्गिस्तानबाट डा किसान भण्डारीमार्फत २ लाख र क्यानडाबाट १ लाख १० हजार रुपैयाँ सहयोग संकलन भएको जनाइएको छ।

त्यस्तै हङकङबाट किरणराज अधिकारीले १ लाख ५ हजार ५ सय, अष्ट्रेलियाबाट १ लाख ३ हजार, जापानका रोविनप्रसाद शेरचनबाट १ लाख, चीनबाट ७१ हजार, धनकुटाका राजेन्द्रकुमार राउतबाट ५५ हजार, जापानका दीपक कँडेलबाट ५० हजार, कंगोबाट २५ हजार, युवा उद्यमी अशोकराज पाण्डेबाट १० हजार तथा प्रकाश श्रेष्ठबाट ७ हजार रुपैयाँ, द्रोणप्रसाद गुरागाईबाट११ हजार १ सय ११, विजय सन्तोषी राईबाट ११ हजार १ सय ११ र विदुर खवासबाट १० हजार १ सय ५ रुपैया सहयोग प्राप्त भएको जनाइएको छ।


