
१८ भदौ,धनकुटा । चाडपर्वको समयमा हुनसक्ने सडक दुर्घटना, चोरी डकैती तथा यातायात सम्बन्धी समस्या न्यूनीकरण गर्न सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी ११ बुँदे निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा भएको बैठकले विपद्को जोखिम भएका स्थानमा तत्काल उद्धारका लागि आवश्यक मानवीय तथा भौतिक स्रोत–साधन तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ। दुर्घटनाको उच्च जोखिम भएका स्थानमा होर्डिङ बोर्ड तथा सडक संकेत राखी चालकलाई सचेत गराउने र सडक डिभिजनअन्तर्गतका निर्माण सामग्री उचित स्थानमा राख्न भनिएको छ। त्यस्तै, राजमार्ग तथा सहायक मार्गमा रहेका खाल्डाखुल्डी पुर्ने र नियमित मर्मत सम्भारको व्यवस्था गर्न सम्बन्धित आयोजना तथा स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन । सडक बन्द भएको अवस्थामा सुरक्षा निकायले १० मिनेटभित्र सडक अवरोध हटाउन सक्ने गरी QRT तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।
चाडपर्वका समयमा यात्रुबाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्ने, आरक्षण सिटको पूर्ण प्रयोग गराउने तथा टिकटको भाडाभन्दा बढी भाडा नलिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। यात्रुबाट हुने चोरी, डकैती, ठगी तथा चन्दा सङ्कलन नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयमार्फत यात्रु सहायता कक्षको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ। निश्चित स्थानमा मात्र सवारी पार्किङ गर्ने व्यवस्था मिलाउन ट्राफिक कार्यालयलाई जिम्मेवारी दिइएको छ भने नियमित रूपमा मापसे तथा लापसे परीक्षण गर्न पनि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन ।
राष्ट्रिय राजमार्ग, कोशी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा चल्ने अरुण तेस्रो जलविद्युत आयोजना तथा अन्य सम्बन्धित आयोजनाका सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी भार नहाल्न र मालवाहक सवारीसाधनमा आवश्यक सुरक्षा सामग्री राख्न भनिएको छ। ट्राफिक कार्यालयले चेकजाँच तथा नियमन गर्ने र सडक डिभिजन तथा सडक आयोजनाले आवश्यक समन्वय गर्ने निर्णय भएको छ। यसैगरी सुरक्षा निकायबाट नियमित गस्ती तथा पिकेटिङको व्यवस्था मिलाउने निर्णय गरिएको छ। चाडपर्वको समयमा सडक दुर्घटना, यात्रुको असुरक्षा र यातायातमा हुने अनियमितता नियन्त्रण गर्न यी निर्णय कार्यान्वयनमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन । बैठक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षता तथा सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।
