- दुई महिना बित्दा पनि आय–व्यय सार्वजनिक भएन : १८औँ शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक नगर्दा पारदर्शितामाथि प्रश्न उठेको छ।
- सार्वजनिक लगानी, तर आर्थिक विवरण गोप्य : प्रतियोगितामा करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। धनकुटा नगरपालिकाले १३ लाख रुपैयाँ सहयोग गरेको थियो भने मुख्य प्रायोजक एक्स्ट्रिम एनर्जी ड्रिंकका कारण प्रतियोगिताको नामसमेत परिवर्तन गरिएको थियो। यति हुँदाहुँदै पनि आर्थिक प्रतिवेदन सार्वजनिक भएको छैन।
- खेलकर्मीको माग– सम्पूर्ण हिसाब सार्वजनिक गरियोस् : स्थानीय खेलकर्मी तथा सरोकारवालाले आम्दानीका स्रोत, प्रायोजन, सहयोग रकम, खर्चका शीर्षक र मौज्दातसहितको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूका अनुसार यसले आगामी संस्करणप्रतिको जनविश्वास कायम राख्न मद्दत पुग्नेछ।
- आयोजकको प्रतिबद्धता– एक साताभित्र विवरण सार्वजनिक गर्ने : प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले कर कट्टी र आर्थिक वर्षको प्रक्रियागत कारणले ढिलाइ भएको बताउँदै एक साताभित्र सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।

१३ लाख रुपैयाँ नगरपालिकाको सहयोग, मुख्य प्रायोजकका कारण प्रतियोगिताकै नाम परिवर्तन, तर आर्थिक विवरण अझै गोप्य
१६ साउन, धनकुटा । सहिद भीमनारायण स्मृति प्रतिष्ठानद्वारा आयोजित १८औँ शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि आयोजकले प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको छैन। यसले प्रतियोगिताको आर्थिक पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो। खेल सकिएको लामो समय बितिसक्दा पनि आम्दानी, प्रायोजन, सहयोग रकम तथा विभिन्न शीर्षकमा भएको खर्चको आधिकारिक विवरण सार्वजनिक नगरिएपछि खेलप्रेमी, स्थानीय सरोकारवालाबीच चासो बढेको छ।
प्रतिष्ठानले प्रतियोगिता सञ्चालनका लागि करिब ४५ लाख रुपैयाँ खर्च हुने जनाएको थियो। धनकुटा नगरपालिकाले मात्रै १३ लाख रुपैयाँ सहयोग गरेको थियो भने मुख्य प्रायोजक एक्स्ट्रिम एनर्जी ड्रिंक जोडिएपछि प्रतियोगिताको परम्परागत नामसमेत परिवर्तन गरी शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिताू राखिएको थियो। यति ठूलो सार्वजनिक तथा निजी लगानी भएको प्रतियोगिताको आर्थिक प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन।
सार्वजनिक सहयोग, प्रायोजन तथा सरकारी निकायको लगानीमा सञ्चालन हुने प्रतियोगितामा आय–व्यय विवरण समयमै सार्वजनिक गर्नु सुशासन, पारदर्शिता र सार्वजनिक जवाफदेहिताको न्यूनतम दायित्व मानिन्छ। तर आयोजकको ढिलासुस्तीले प्रतियोगिताको आर्थिक व्यवस्थापनमाथि नै प्रश्न उठ्न थालेको छ।
स्थानीय खेलकर्मीहरूले प्रतियोगितामा प्राप्त सबै आम्दानी, प्रायोजन, सहयोग रकम, खर्चका शीर्षक र मौज्दात रकम भए त्यसको समेत स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूका अनुसार आर्थिक विवरण लुकाइराख्ने प्रवृत्तिले आगामी संस्करणप्रति जनविश्वास कमजोर बनाउने खतरा बढाएको छ।यस विषयमा सहिद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले एक साताभित्र सम्पूर्ण आय–व्यय सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार आर्थिक वर्षको अन्त्यतिर विभिन्न निकायबाट आउने रकम यकिन हुन नसक्नु, स्थानीय तहबाट प्राप्त रकमको कर कट्टी लगायतका प्रक्रिया स्पष्ट नहुँदा विवरण सार्वजनिक गर्न ढिलाइ भएको हो।
अब जे जति आएको छ, सबै सार्वजनिक गर्छौं। स्थानीय तहबाट आएको रकममा कर कट्टीको हिसाब यकिन हुन बाँकी थियो। त्यसैले समयमै आय–व्यय सार्वजनिक गर्न सकेनौं। सार्वजनिक गर्ने बेला सबैलाई जानकारी गराउँछौं,अध्यक्ष श्रेष्ठले भने।
प्रतियोगितामा बेलबारी फुटबल क्लब, मोरङ विजेता बन्दै ६ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता बनेको आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले ३ लाख रुपैयाँ प्राप्त गरेको थियो।
उल्लेखनीय रूपमा, प्रतियोगिता सञ्चालनकै क्रममा आयोजकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै धनकुटाका सञ्चारकर्मीहरूले प्रतियोगिताको औपचारिक कभरेज बहिष्कार गरेका थिए। सञ्चारकर्मीहरू प्रेस बक्समा नबसी दर्शकदीर्घाबाटै समाचार संकलन गर्न बाध्य भएका थिए, जसले प्रतियोगिताको व्यवस्थापनमाथि त्यतिबेलै प्रश्न उठाएको थियो। अब आयोजकले सार्वजनिक रूपमा गरेको एक साताभित्र आय–व्यय सार्वजनिक गर्ने प्रतिबद्धता व्यवहारमा उतार्छ कि उतार्दैन भन्ने विषयमा खेलप्रेमी र सरोकारवालाको चासो केन्द्रित भएको छ। यदि पुनः ढिलाइ भए, प्रतियोगिताको आर्थिक पारदर्शितामाथिको प्रश्न अझ गहिरिने देखिएको छ।
