१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

Radio Khabar Palika

अखाद्य वस्तु भेटिएपछि धनकुटामा डेरीसहित चार मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना



१४ साउन ,धनकुटा । धनकुटाको हुलाकटोल क्षेत्रमा गरिएको छड्के बजार अनुगमनका क्रममा अखाद्य वस्तु तथा मापदण्डविपरीत खाद्य सामग्री बिक्री–वितरण गरेको पाइएपछि एउटा डेरीसहित चार मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा बुधबार गरिएको अनुगमनमा भीमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका डेरी तथा मिठाई पसलहरूको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा पटक–पटक प्रयोग गरिएको तोरीको तेल पुनः प्रयोग गरिएको, तेलको गुणस्तर न्यूनतम मापदण्डभन्दा तल रहेको तथा खाद्य सुरक्षाका मापदण्ड पालना नगरिएको पाइएको थियो।

त्यसैगरी, एक डेरीमा घ्यूमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नगरिएको, सरसफाइमा लापरबाही गरिएको र बिल प्रयोग नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिए। उनका अनुसार मापदण्ड उल्लंघन गर्ने चारवटा पसललाई जनही ५ हजार रुपैयाँका दरले २० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री तथा तयारी खानेकुरा जफत गरी नष्ट गरिएको छ।

साथै अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइको अवस्था कमजोर रहेको, व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको तथा आवश्यकभन्दा बढी र अनधिकृत रासायनिक पदार्थ प्रयोग गरिएको पनि भेटिएको प्रशासनले जनाएको छ। अनुगमन टोलीले सम्बन्धित व्यवसायीलाई आगामी दिनमा अखाद्य वस्तुको बिक्री–वितरण नगर्न कडा चेतावनी दिएको छ। पुनः यस्ता गतिविधि दोहोरिए कानुनबमोजिम थप जरिवाना र कडा कारबाही गरिने पनि टोलीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय उपभोक्ताबाट खाद्य गुणस्तरसम्बन्धी गुनासो बढ्दै गएपछि बजार अनुगमनलाई तीव्र बनाइएको हो। केही समयअघि पनि धनकुटा जिल्ला अस्पताल आसपासका होटलहरूमा अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री भएको गुनासो आएपछि अनुगमन गरी कारबाही गरिएको थियो। अनुगमनमा जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तथा उद्योग वाणिज्य संघ धनकुटाका प्रतिनिधिहरूको संयुक्त सहभागिता रहेको थियो।