१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

Radio Khabar Palika

नेश्नल गट ट्यालेन्ट–२०८३ आयोजना हुँदै, देशभरबाट गायन र नृत्य प्रतिभाको खोजी गरिने



१३ साउन, धनकुटा । धनकुटास्थित टिन्स क्रिउ डान्स सेन्टर एण्ड रिक्रिएसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालि, धनकुटाले यस वर्ष नेश्नल गट ट्यालेन्ट–२०८३ आयोजना गर्ने भएको छ। कला, संस्कृति तथा लुकेर रहेका प्रतिभाको खोजी र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।


विगतका वर्षहरूमा सफलतापूर्वक सम्पन्न भएका पूर्वाञ्चल गट ट्यालेन्ट का सात संस्करणपछि यस वर्ष प्रतियोगितालाई राष्ट्रिय स्तरमा विस्तार गरिएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए । प्रतियोगितामार्फत नेपालभर रहेका गायन र नृत्य क्षेत्रका प्रतिभाशाली व्यक्तिलाई राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै कला–संस्कृतिको संरक्षण, प्रवर्द्धन र हस्तान्तरणमा टेवा पुग्ने विश्वास आयोजकले लिएको योगीको भनाई छ । कार्यक्रम टिन्स क्रिउ डान्स सेन्टर र रिक्रियसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालि, धनकुटा को संयुक्त आयोजनामा सञ्चालन हुनेछ। प्रतियोगितामा गायन र नृत्य विधामा प्रतिस्पर्धा हुनेछ। उमेर समूहअन्तर्गत १३ वर्षमुनिका (जुनियर) र १४ वर्षमाथिका (सिनियर) गरी दुई समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । अडिसन काठमाडौं, पोखरा, बुटवल, धरान, इटहरी, विराटचोक (मोरङ), दमक, बिर्तामोड, इलाम, फिक्कल, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, ताप्लेजुङ, पाँचथर (फिदिम) तथा भारतको सिक्किम लगायतका स्थानमा सञ्चालन गरिने कार्यक्रम संयोजक योगीले जानकारी दिए । नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बू, दिपेश मगर र सुष्मा क्षेत्री निर्णायक रहनेछन् भने गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती, महेश राई र नवीन गजेमार निर्णायकको भूमिकामा रहने योगीको भनाई छ ।


प्रतियोगिताको विजेताले ५ लाख नगद, ५ लाख बराबरको जीवन बिमाको पहिलो प्रिमियम, म्युजिक रेकर्डिङ, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त आयोजले जनाएको छ । कार्यक्रम २०८३ साल साउन १६ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।