११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

Radio Khabar Palika

धनकुटामा आगलागी तथा बाढी–पहिरो उद्धार सम्बन्धी एकीकृत सिमुलेसन अभ्यास सम्पन्न



११ जेठ,धनकुटा । वर्षात् सुरु भएसँगै सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै धनकुटा जिल्लामा आगलागी, बाढी–पहिरो तथा जलप्रकोप उद्धार सम्बन्धी एकीकृत सिमुलेसन अभ्यास भएको छ।


श्री भीमदल गणको संयोजनमा जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला अस्पताल तथा नेपाल रेडक्रस सोसाइटी धनकुटाको संयुक्त आयोजनामा एकीकृत सिमुलेसन अभ्यास गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापनका क्रममा प्रयोग गरिने सामग्रीहरूको प्रदर्शन समेत गरिएको थियो।

एकीकृत सिमुलेसन अभ्यास प्रभावितलाई तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्य राखेर आयोजना गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए। सिमुलेसन अभ्यासमा श्री नं २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिवाकर विक्रम राणा, धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, जिल्ला स्थित सुरक्षा प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगर प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, नेपाल रेडक्रस सोसाइटी धनकुटाका पदाधिकारी, पत्रकार, स्थानीयवासी तथा विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।