१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

सरकारद्धारा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत(फोटो फिचर सहित)



८ चैत, काठमाण्डौ । सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार प्रदान गरेका हुन ।

प्रधानमन्त्री ओलीले टेलिमेडिसिनतर्फ डा छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ डा आभास मास्के र हरिराम श्रेष्ठलाई सम्मान गरे ।

त्यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल, खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी, समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा ठूलो संख्यामा रहेका युवाहरुलाई प्रेरणा हुने गरि काम गर्न आग्रह गरे ।

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।