
७ असार,धनकुटा । कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूमा आकर्षण बढाउन पूर्वाधार विकास, होमस्टे स्तरोन्नति र पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। धनकुटामा आयोजित पर्यटन प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रको सम्भावना प्रशस्त भए पनि आवश्यक लगानी र समन्वय अभावले अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका छन्।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ तथा डिभिजन वन कार्यालय धनकुटाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा होमस्टे तथा होटल सञ्चालकहरूले आर्थिक अभावका कारण अधिकांश होमस्टेहरूलाई स्तरोन्नति गर्न नसकिएको गुनासो गरे। उनीहरूले पर्यटकीय स्थलसम्म पुग्ने सडकको अवस्था कमजोर रहेको, आवश्यक तालिम तथा प्राविधिक सहयोग नपाउँदा व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको बताएका थिए।
सहभागीहरूले नयाँ पर्यटकीय गन्तव्यको पहिचानसँगै विद्यमान गन्तव्यहरूको संरक्षण, प्रचारप्रसार र पहुँच विस्तारमा सरकार तथा सरोकारवाला निकायले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए। खानेपानी, सञ्चार, सडक तथा अन्य आधारभूत सेवाको विकास बिना पर्यटन क्षेत्रले अपेक्षित प्रतिफल दिन नसक्ने उनीहरूको धारणा थियो।
कार्यक्रममा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले होमस्टे स्थानीय उत्पादन, संस्कृति र रोजगारीसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसको प्रवर्द्धन तीनै तहका सरकारको सहकार्यमा हुनुपर्ने बताए। उनले होमस्टे तथा होटल सञ्चालन गर्दा स्थानीय संस्कार–संस्कृतिको संरक्षणसँगै न्यूनतम सेवा मापदण्डको पालना आवश्यक रहेको उल्लेख गरे। जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले पर्यटकलाई आकर्षित गर्न स्वागत सत्कार, सरसफाइ र सेवा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।उनले पर्यटन विकासका लागि स्थानीय तह, व्यवसायी र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे।
अन्तरक्रियामा धनकुटासहित कोशी प्रदेशका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामुदायिक पर्यटनका सम्भावित गन्तव्यहरूको पहिचान र प्रवर्द्धनका विषयमा छलफल भएको थियो। सहभागीहरूले स्थानीय समुदायको सक्रिय सहभागिता र सरकारी सहयोगबाट पर्यटनलाई आयआर्जन तथा रोजगारीको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेका थिए।

