
७ असार, धनकुटा । महालक्ष्मी नगरपालिकाले जीतपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै चालु आर्थिक वर्षको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ।
कार्यक्रममा नगरपालिकाले चालु तथा पुँजीगत खर्चको अवस्था, विभिन्न विकास योजनाको कार्यान्वयन प्रगति तथा राजस्व संकलनको अवस्थाबारे जानकारी गराएको थियो। सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीले बजेटको पारदर्शिता, खर्चको विवरण, पुँजीगत बजेट कार्यान्वयन, योजनाको प्रभावकारिता तथा विकास निर्माण कार्यको प्रगतिका विषयमा जिज्ञासा राखेका थिए। उनीहरूले सार्वजनिक गरिएको बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे थप स्पष्ट जानकारीको माग समेत गरेका थिए। कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नगर प्रमुख धुब्रराज रायले सीमित स्रोतसाधन र वित्तीय दबाबका कारण नागरिकका अपेक्षाअनुसार सबै विकास निर्माणका काम सम्पन्न गर्न चुनौती रहेको बताए। तथापि, नगरवासीलाई सहज सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे। उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने र नागरिकबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरिन।
सार्वजनिक सुनुवाइ कार्यक्रमलाई स्थानीय सरकार र नागरिकबीचको संवाद, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्ने प्रभावकारी माध्यमका रूपमा हेरिएको छ। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

