६ असार २०८३, शनिबार | Sat Jun 20 2026

Radio Khabar Palika

किशोरदेखि युवासम्म बढ्दो लागुऔषध दुर्व्यसन, सचेतना र नियन्त्रणमा जोड



६ असार ,धनकुटा ।

धनकुटामा लागुऔषध दुर्व्यसनको समस्या किशोर तथा युवावर्गमा बढ्दो चिन्ताको विषय बनेको छ। किशोर अवस्थादेखि नै लागुऔषध सेवन सुरु गर्ने प्रवृत्ति बढ्दै गएको तथ्यांकले देखाएको भन्दै सरोकारवालाले समयमै सचेतना र नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

छथरजोरपाटी गाउँपालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय धनकुटा र धनकुटा मिडिया हाउसद्वारा आयोजित लागुऔषध दुर्व्यसन तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले अधिकांश व्यक्तिले १५ देखि १९ वर्षको उमेरमै लागुऔषध सेवन सुरु गर्ने गरेको जानकारी दिए। उनका अनुसार २४ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूमा लागुऔषध प्रयोगकर्ताको संख्या सबैभन्दा बढी रहेको छ।

उनले किशोरहरू प्रारम्भिक जिज्ञासा, साथीभाइको दबाब, गलत संगत, पारिवारिक निगरानीको अभाव तथा सामाजिक परिवेशका कारण लागुऔषधको सम्पर्कमा पुग्ने गरेको बताए। समयमै उचित सचेतना, परामर्श र निगरानी नहुँदा उनीहरू दुर्व्यसनतर्फ आकर्षित हुने जोखिम बढ्दै जाने उनको भनाइ थियो। प्रहरी नायव उपरीक्षक क्षेत्रीले लागुऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारी तथा सामाजिक सम्बन्धमा गम्भीर असर पार्ने उल्लेख गर्दै यसले परिवार, समाज र राष्ट्रलाई समेत नकारात्मक प्रभाव पार्ने बताए। लागुऔषध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले अभिभावक, शिक्षक, स्थानीय तह, सामाजिक संघसंस्था तथा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले किशोर तथा युवाहरूलाई लक्षित गरी विद्यालय, समुदाय र स्थानीय तहस्तरमा नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। साथै, लागुऔषधमुक्त समाज निर्माणका लागि सबै पक्षबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।