
विदुर खवास
९ असार, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका तल्लो भेगका गाउँहरूमा पछिल्ला वर्षहरूमा बसाइँसराइ तीव्र बन्दै गएको छ। एक समय धान, मकै, कोदो र गहुँले हराभरा देखिने खेतबारी अहिले धेरै ठाउँमा बाँझो बनेका छन्। गाउँका युवायुवती र परिवारहरू रोजगारी तथा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्दै जाँदा खेतीयोग्य जमिन उपयोगविहीन बन्न थालेको छ।

यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यसहित छथर जोरपाटी गाउँपालिकाको वडा नं. ३ र ४ मा आँप ब्लक विकास कार्यक्रम सुरु गरिएको छ। कृषि ज्ञान केन्द्र धनकुटाको पहलमा स्थानीय किसान र सहकारीको साझेदारीमा सञ्चालन भएको यो कार्यक्रमले खाली जमिनलाई पुनः उत्पादनशील बनाउने आशा जगाएको छ।
१ हजार २ सय रोपनीमा आँप खेती विस्तार
कार्यक्रमअन्तर्गत बन्चरे, सिभुवा, पाथीभरा, गुठ, पिप्ले, मार्से तथा तेलियालगायतका क्षेत्रमा करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा व्यावसायिक आँप खेती विस्तार गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि किसानहरूलाई ६ हजार बोट माल्दह जातका आँपका बिरुवा वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाका अनुसार सरकारले बसाइँसराइ प्रभावित क्षेत्रमा दीर्घकालीन आम्दानी दिने कृषि कार्यक्रम विस्तार गर्ने नीति अनुरूप यो योजना अघि बढाइएको हो। उनका अनुसार कार्यक्रमका लागि सरकारको १० लाख रुपैयाँ अनुदान र किसानको ६ लाख २५ हजार रुपैयाँ लागत साझेदारी रहेको छ।

बिरुवामात्र होइन, कृषि सामग्री पनि
कार्यक्रम स्थानीय समावेशी सक्रिय कृषि सहकारी संस्था मार्फत सञ्चालन गरिएको छ। किसानलाई आँपका बिरुवासँगै उत्पादन व्यवस्थापनमा सहयोग पुग्ने गरी चार वटा यान्त्रिक हलो र ९ हजार ३ सय मिटर प्लास्टिक पाइप समेत वितरण गरिएको छ। सहकारीका अध्यक्ष डेकबहादुर लिम्बूले परम्परागत खेती प्रणाली कमजोर बन्दै गएको अवस्थामा किसानलाई दीर्घकालीन आम्दानी दिने बहुवर्षीय बालीतर्फ आकर्षित गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।उनले भने, “धान, मकै, कोदो र गहुँजस्ता परम्परागत बालीको खेती घट्दै गएको छ। यस्तो अवस्थामा व्यावसायिक आँप खेती किसानको आयआर्जनको भरपर्दो विकल्प बन्न सक्छ।”

बाँझो जमिनको सदुपयोगको प्रयास
छथर जोरपाटीका बन्चरे, सिभुवा, पाथीभरा, लामिछानेडाँडा, गुठ, पिप्ले, कर्कले, मार्से र तेलियालगायतका क्षेत्रमा बसाइँसराइको दर उच्च रहेको स्थानीयहरू बताउँछन्। धेरै परिवार गाउँ छाडेर अन्यत्र बसाइँ सरेपछि खेतीयोग्य जमिन खाली छोडिएको छ।स्थानीय किसान दीपक परियारका अनुसार अहिले ती जमिनमा पनि अभियानकै रूपमा आँप खेती विस्तार गर्न किसानलाई प्रोत्साहित गरिएको छ।“वर्षौँदेखि खाली रहेका जमिनमा फलफूल खेती सुरु भएपछि गाउँमा फेरि कृषि गतिविधि बढ्ने अपेक्षा गरेका छौँ,” उनले भने।

हावापानी पनि अनुकूल
कृषि ज्ञान केन्द्रका अनुसार छथर जोरपाटीको तल्लो क्षेत्रको हावापानी, तापक्रम र भू–बनोट आँप खेतीका लागि उपयुक्त मानिन्छ। विशेषगरी माल्दह जातको आँप यस क्षेत्रमा राम्रो उत्पादन दिन सक्ने प्राविधिकहरूको भनाइ छ। आँप खेती सफल भएमा आगामी वर्षहरूमा थप क्षेत्र विस्तार गर्दै यस क्षेत्रलाई व्यावसायिक फलफूल उत्पादन केन्द्रका रूपमा विकास गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बजारको पहुँच पनि सहज
कृषकहरूको अर्को प्रमुख चिन्ता उत्पादनको बजार हो। तर यस क्षेत्रमा सडक पहुँच विस्तार भइसकेकाले उत्पादनको बजारीकरणमा सहजता हुने अपेक्षा गरिएको छ। धनकुटा सदरमुकामबाट बिहीबारे हाट, ताङ्खुवा खोला, बन्चरे, लामिछानेडाँडा हुँदै तेलियासम्म पुग्ने करिब २३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। यसले उत्पादन संकलन र ढुवानीलाई सहज बनाउने स्थानीयको विश्वास छ।

औद्योगिक ग्रामसँग जोडिने सम्भावना
छथर जोरपाटी गाउँपालिकाले सिभुवामा औद्योगिक ग्राम स्थापना गरिसकेको छ। यसले आँप उत्पादनसँगै प्रशोधन उद्योग सञ्चालनको सम्भावना समेत बढाएको छ। जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङका अनुसार आँप खेतीले उत्पादनमात्र होइन, जुस, अचार, पल्पलगायतका प्रशोधित वस्तु उत्पादन गर्ने अवसर पनि सिर्जना गर्न सक्छ। उनले किसानलाई व्यावसायिक रूपमा फलफूल खेतीमा लाग्न आग्रह गर्दै खाली जमिनको सदुपयोग, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

हराउँदै गएको खेती संस्कृति जोगाउने प्रयास
बसाइँसराइले गाउँका खेतबारी उजाड बन्दै गएका बेला छथर जोरपाटीमा सुरु भएको आँप ब्लक कार्यक्रम केवल कृषि परियोजना मात्र होइन, गाउँको अर्थतन्त्र पुनर्जीवित गर्ने अभियानका रूपमा हेरिएको छ। यदि कार्यक्रम सफल भयो भने खाली जमिन पुनः हराभरा बन्ने मात्र होइन, गाउँमै रोजगारी र आम्दानीका नयाँ सम्भावना समेत सिर्जना हुनेछन्। छथर जोरपाटीका पहाड र पाखामा रोपिएका ६ हजार आँपका बिरुवाले अबको केही वर्षपछि फल दिन थाल्नेछन्। ती बिरुवासँगै स्थानीय किसानले समृद्धिको नयाँ सपना पनि रोपेका छन्।

