
६ असार,धनकुटा । धनकुटामा आयोजित समूहगत लोकनृत्य प्रतियोगितामा दीप इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ।
हाम्रो बहुमुखी पाठशाला धनकुटाको आयोजनामा निजामती आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न खुला लोकनृत्य प्रतियोगितामा दीप इङ्लिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल द्वितीय तथा निजामती आवासीय माध्यमिक विद्यालय तृतीय भएको आयोजकले जनाएको छ।
नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विभिन्न विद्यालय तथा समूह गरी ११ वटा टोलीको सहभागिता रहेको थियो। हाम्रो बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेलका अनुसार प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँ, द्वितीय हुने टोलीले नगद २० हजार रुपैयाँ तथा तृतीय हुने टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा समूहलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताले स्थानीय स्तरमा लोकसंस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउनुका साथै मौलिक कला र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

