
२५ फागुन,धनकुटा। कवि काङमाङ नरेश राईले धनकुटामा एकल कविता वाचन गरेका छन । मिसन पोएट्री धनकुटाले आइतबार आयोजना गरेको कार्यक्रममा आफूलाई युद्ध कविका रुपमा चिनाउँदै आएका राईले करिब डेढ दर्जन कविता वाचन गरे ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका कवि राईले आफू बेलायती सैनिक छँदाका भोगाइ, लाहुरेका कथा व्यथा तथा मुन्धुम भावका कविता सुनाएका थिए ।

२०४५ सालदेखि कविता लेखनयात्रा थालनी गरेका राईका १५ भन्दा बढी कृति तथा सम्पादन गरिएका पुस्तक प्रकासीत छन् । पहिलो कविता ‘एघारौं सम्झनामा बाँचेको म’, ‘फर्केर आऊ’ हुँदै ‘प्रेम र युद्ध’ लगायत अन्तिममा ‘यो घर पक्कै ढल्छ होला’ प्रस्तुत गर्दै उनले एकल वाचन अन्त्य गरेका थिए ।

कलाकार डिल्लीकृष्ण आलेले कविता वाचन कार्यक्रम अवधिमा कवि राईको मुहार चित्रसमेत तयार पारे हस्तान्तरण गरे । कार्यक्रमको सञ्चालन कवि मुकुन्द प्रयासले गरेका थिए भने कार्यक्रममाउपस्थित सबैलाई कवि केजी सुब्बाले स्वागत गरेका थिए ।



