३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

छथर जोरपाटीका पहिरो पीडितलाई राहत वितरण



धनकुटा । गत असोजको पहिरोमा घरबास गुमाएका धनकुटाको छथरजोरपाटी गाउँपालिकाका पीडित परिवारलाई आपतकालिन राहत सामग्री वितरण गरिएको छ । शान्ति भोलेन्टियर्स संस्थाको सहयोगमा प्राप्त घर निर्माण र अन्य समग्री सिंधुवामा रहेको सिधुवा जोरपाटी सामुदायिक पुस्तकालय मार्फत पीडित परिवारलाई वितरण गरिएको हो ।

छथरजोरपाटी गाउँपालिकामा आयोजित शुक्रबार कार्यक्रम गरि ११ पीडित परिवारलाई १० लाख रुपैयाँ बराबरको जस्तापाता, पर्खाल निर्माणका लागि ग्याभिन जाली र अन्य सुरक्षा सामग्री उपलब्ध गराइएको हो । कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा, एसबिए नेपालका कन्ट्रि डाइरेक्टर हिरोको हगिहरा, मेनेजर गणेस लामा, रिडका उपनिर्देशक चीनकाजी श्रेष्ठ, सिधुवा जोरपाटी सामुदायिक पुस्तकालयका अध्यक्ष अर्जून घिमिरे र सचिव पदम भट्टराईले ४० थान ग्याभिन जाली चुलाचुली र शारदा सामुदायिक माध्यमिक विद्यालयको क्षतिग्रस्त पर्खाल पुनःनिर्माणका प्रदान गर्नुभयो ।

सँगै आयोजित अर्का कार्यक्रममा पहिरो पीडितहरुको घर निर्माण र तथा पुनस्थापनाका लागि छथर जोरपाटी गाउँपालिकाले १० परिवारलाई २० हजारका दरले दुइलाख रुपैयाँ नगद रकम वितरण गरेको छ । पहिरो पीडितलाई नगद प्रदान गर्दै गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले भवितब्यमा परेर घरबास गुमाएका परिवारको पुनस्थापनाका लागि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आंशिक र सामान्य क्षतिको समेत अभिलेख अद्यावधिक गरि राहत र परिपुरणका लागि प्रदेश तथा केन्द्र सरकार तथा दातृनिकायमा पहल गरिने बताउँनु भयो ।