
४ असोज ,धनकुटा । धनकुटामा आयोजित प्रदेशस्तरीय बी लेभल पुरुष डबल्स, राष्ट्रियस्तरीय भेट्रान्स पुरुष डबल्स र जिल्लास्तरीय बी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
प्रदेशस्तरीय बी लेभल पुरुष डबल्सतर्फ प्रतिक विष्ट र कर्ण तामाङको जोडीले उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा विष्ट र तामाङको जोडीले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। यस विधामा अनमोल बुर्जा मगर–उत्सव उप्रेती तथा विशाल पराजुली–रोमिन कटेलको जोडी तेस्रो भए। यस्तै, राष्ट्रियस्तरीय भेट्रान्स पुरुष डबल्सतर्फ गणेश राई र दीपक आङ्दाम्बेको जोडी विजेता बनेको छ। राई र आङ्दाम्बेको जोडीले शिखर श्रेष्ठ र इन्द्रकुमार योङहाङको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो। भेट्रान्सतर्फ मनोज लिम्बू–विवन प्रधान तथा राम योञ्जन–श्रवणकुमार चौधरीको जोडी तेस्रो भए।

जिल्लास्तरीय बी लेभल पुरुष डबल्सतर्फ करण लिम्बू र विपन गौतमको जोडीले उपाधि जित्यो। फाइनलमा लिम्बू र गौतमको जोडीले दीपक भुजेल र दुर्गा बस्नेतको जोडीलाई पराजित गरेको हो। यस विधामा अनिल आले–ललित घिमिरे तथा दीपक लामा–दीपक बस्नेतको जोडी तेस्रो भए। प्रदेशस्तरीय बी लेभलका विजेता जोडीले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता जोडीले २४ हजार तथा तेस्रो भएका दुई जोडीले जनही ८ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए। त्यस्तै, राष्ट्रियस्तरीय भेट्रान्सतर्फ विजेता जोडीले ४० हजार, उपविजेता जोडीले २४ हजार तथा तेस्रो भएका दुई जोडीले जनही ८ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
जिल्लास्तरीय बी लेभलतर्फ विजेता जोडीले ३० हजार, उपविजेता जोडीले १८ हजार तथा तेस्रो भएका दुई जोडीले जनही ६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। शटल धनकुटा स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा विजेता, उपविजेता तथा तेस्रो हुने खेलाडीलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ क्लवका अध्यक्ष सुजन श्रेष्ठ,प्रदेश व्याडमिन्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ ,समाजसेवी लगायतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।


