३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

धनकुटामा करदाता शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न



धनकुटा ।आन्तरिक राजस्व कार्यालय सुनसरीले कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ १३औं राष्ट्रिय कर दिवसको अवसरमा करदाता शिक्षा तथा करदाता सम्मान कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्य तथा आन्तरिक राजस्व कार्यालय सुनसरीका प्रमुख बुद्धिप्रसाद आचार्यको अध्यक्षमा सम्पन्न कार्यक्रममा कर प्रणालीप्रति जनचेतना अभिवृद्धि र उत्कृष्ट योगदान दिने व्यक्ति र सस्थालाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट करदाता रुपमा गुराँस लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद उपाध्याय सम्मानित भएका छन ।

त्यस्तै, धनकुटा करदाता सेवा कार्यालयका सवारीचालक गुरुप्रसाद अधिकारीलाई उत्कृष्ट कर्मचारी का रूपमा सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबै आ आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताए ।

उनले नागरिकको दायित्व अन्तर्गत कर तिर्ने कार्य समेत परेकाले व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताए । उनले सबैलाई करको दायरामा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने बताए । कार्यक्रमले कर प्रणालीलाई प्रभावकारी बनाउन र करदातालाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने भन्दै राईले कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्नेमा जोड दिए । कर प्रणालीका लाभ र पारदर्शिताका बारेमा बोल्दै जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले विगतकोभन्दा अहिले झन्झटिलो प्रक्रिया रहेकाले केही सहजीकरण गर्नुपर्ने तर्क गरेका थिए ।