
२५ जेठ ,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी नीतिप्रति विरोध जनाउँदै सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत प्राप्त हस्ताक्षर सरकारलाई बुझाएको छ।
महासंघको टोलीले सोमबार धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीमार्फत हस्ताक्षरसहितको ज्ञापनपत्र सरकारसमक्ष पठाएको हो। शाखा अध्यक्ष विदुर खवासको नेतृत्वमा संस्थापक सभापति संजयसन्तोषी राई, सल्लाहकारद्वय सन्तोष रुचाल र विनोद घिमिरे, सचिव हरिबहादुर लम्जेल, कोषाध्यक्ष नारायणकुमार राई तथा सञ्चारकर्मी कोकिला भण्डारी र विपिन दाहाललगायतको टोलीले सङ्कलित हस्ताक्षर सम्बन्धित निकायसम्म पुर्याइदिन आग्रह गरेको थियो।
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी रेग्मीले हस्ताक्षरसहितको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाइने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासंघले सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न, प्रेसको संवैधानिक अधिकारको रक्षा गर्न तथा नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्न माग गर्दै देशव्यापी दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको जनाएको छ।
महासंघ २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रविरुद्ध आन्दोलनरत छ। उक्त परिपत्रले सरकारी विज्ञापन तथा सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने प्रयास गरेको आरोप लगाउँदै महासंघले त्यसको खारेजीको मागसहित चरणबद्ध आन्दोलन जारी राखेको जनाएको छ।

