
२८चैत्र , धनकुटा । सामान्यतया तराई र तल्लो भूभागमा मात्रै देखिने अत्यन्तै विषालु सर्प राजगोमन (किङ कोब्रा) धनकुटाको पहाडी बस्तीमै फेला परेपछि स्थानीयमा त्राससँगै चासो पनि बढेको छ।
धनकुटा नगरपालिका ३ र ६ को सिमाना पर्ने कागते क्षेत्रमा करिब १३ फिट लामो राजगोमन सर्प तीन दिनसम्म गोठमै बसिरहेको अवस्थामा भेटिएको हो। स्थानीयले सूचना दिएपछि महालक्ष्मी नगरपालिका–५ लेगुवाका सर्प उद्धारकर्मी प्रदीप श्रेष्ठले शनिबार जोखिमपूर्ण तरिकाले सर्प नियन्त्रणमा लिएको धनकुटा नगरपालिका वडा नं ३ का अध्यक्ष विकास घिमिरेले जानकारी दिए ।
समुद्री सतहबाट करिब १३ सय मिटर उचाइमा रहेको उक्त स्थानमा यस्तो सर्प देखिनु असामान्य मानिन्छ। सामान्यतया पहाडी क्षेत्रमा विरलै देखिने राजगोमन अत्यन्तै विषालु हुने भएकाले यसको उपस्थितिले स्थानीय बासिन्दामा त्रास फैलिएको वडाध्यक्षको भनाई थियो । उद्धार गरिएको सर्पलाई डिभिजन वन कार्यालय धनकुटासँग समन्वय गरी सुरक्षित रूपमा वन क्षेत्रमा छोड्ने तयारी गरिएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए। सर्प उद्धारमा संलग्न श्रेष्ठका अनुसार राजगोमनले अनावश्यक रूपमा आक्रमण नगर्ने भए पनि छेडखानी गर्दा अत्यन्तै आक्रामक बन्ने गर्दछ। “यसको टोकाइ अत्यन्तै खतरनाक हुन्छ, समयमै उपचार नपाए ज्यानसमेत जान सक्छ,” उनले भने। पछिल्लो समय भने यस्ता घटनाहरू बढ्न थालेका छन्। श्रेष्ठका अनुसार विगत दुई वर्षमै धनकुटाका विभिन्न क्षेत्रमा पाँचवटा राजगोमन भेटिनु सामान्य होइन। उनी यसलाई जलवायु परिवर्तनसँग जोड्छन्। “पहिले तल्लो भूभागमा सीमित सर्पहरू अहिले चिसो र पहाडी क्षेत्रमा समेत देखिन थालेका छन्,” उनले बताए। यस घटनाले वातावरणीय परिवर्तनले वन्यजन्तुको बासस्थानमा पारिरहेको प्रभावबारे नयाँ बहस सुरु गराएको छ। विशेषज्ञहरूका अनुसार तापक्रम वृद्धि र वातावरणीय असन्तुलनका कारण सर्पजस्ता जीवहरू नयाँ क्षेत्रमा सर्न थालेका हुन सक्छन्।












