
६,चैत्र,धनकुटा । कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले आँधीहुरीबाट क्षति पुगेका धनकुटास्थित स्वास्थ्य संरचनाको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन । मन्त्री लिम्बूले धनकुटा सदरमुकामस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको निरीक्षण गर्दै हावाहुरीका कारण भएको क्षतिको अनुगमन गरे। सो क्रममा उनले अस्पतालको भौतिक संरचनामा पुगेको क्षति, सेवा प्रवाहमा परेको असर तथा मर्मत–सम्भारको अवस्थाबारे जानकारी लिए ।
अनुगमनपछि मन्त्री लिम्बूले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन तत्काल अस्थायी व्यवस्थापन गरेर सेवा सञ्चालनलाई निरन्तरता दिन निर्देशन दिए। साथै, क्षतिग्रस्त संरचनाको प्राविधिक मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रदेश सरकारले छिट्टै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

“नागरिकको आधारभूत स्वास्थ्य सेवा प्रभावित हुन दिनु हुँदैन, त्यसैले छिटोभन्दा छिटो मर्मत तथा पुनर्निर्माणको काम सुरु गरिन्छ,” मन्त्री लिम्बूले भने। उनले सम्बन्धित निकायलाई क्षतिको यथार्थ विवरण संकलन गरी शीघ्र प्रतिवेदन पेस गर्न पनि निर्देशन दिए । अस्पताल प्रमुख डा विद्या श्रेष्ठका अनुसार कार्यालय भवन, ओपीडी कक्ष तथा औषधि भण्डारण कक्षमा क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार करिब १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको जानकारी मन्त्रीसमक्ष प्रस्तुत गरिएको छ। मन्त्री लिम्बूले आवश्यक परे वैकल्पिक संरचनाबाट सेवा सञ्चालन गर्न र दीर्घकालीन रूपमा सुरक्षित तथा मजबुत संरचना निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले जिल्ला अस्पतालको क्षतिग्रस्त भवनको पनि अनुगमन गरेका छन । मन्त्री लिम्बु सगै अनुगमनमा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास कान्तिपुर टेलिभिजनका उपसम्पादक विनोद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।








