
कोर्ट जीर्ण हुँदा विद्यार्थी अभ्यास र प्रयोगात्मक कक्षाबाट वञ्चित, नयाँ कोर्ट निर्माणका लागि जग्गा अभाव
- धनकुटा बहुमुखी क्याम्पसको एकमात्र बास्केटबल कोर्ट जीर्ण भएर झाडीले ढाकिएको अवस्थामा पुगेको छ, जसका कारण चार वर्षदेखि खेल सञ्चालन हुन सकेको छैन।
- कोर्ट भत्किएको, जमिन चिरा परेको तथा रिङलगायत संरचना बिग्रिएकाले अभ्यास, प्रशिक्षण र आन्तरिक प्रतियोगिता ठप्प बनेका छन्।
- विशेषगरी स्वास्थ्य तथा शारीरिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू प्रयोगात्मक कक्षा र खेल अभ्यासबाट वञ्चित भएका छन्।
- क्याम्पस प्रशासनले नयाँ कोर्ट निर्माणको योजना बनाएको भए पनि उपयुक्त जग्गा अभावका कारण काम अघि बढ्न नसकेको जनाएको छ।
२९ फागुन, धनकुटा । पूर्वी नेपालकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक धनकुटा बहुमुखी क्याम्पसमा रहेको एकमात्र बास्केटबल कोर्ट चार वर्षदेखि प्रयोगविहीन बनेको छ। संरचना जीर्ण बन्दै गएपछि अहिले कोर्ट झाडीले ढाकिएको अवस्थामा पुगेको छ।
क्याम्पसको प्रशासनिक भवनको तलतिर करिब एक रोपनी क्षेत्रफलमा फैलिएको उक्त कोर्ट भत्किएको, जमिन चिरा परेको तथा केही भाग भाँसिएको अवस्थामा छ। रिङलगायत अन्य संरचना समेत जीर्ण भइसकेकाले अहिले त्यहाँ खेल सञ्चालन गर्न सकिने अवस्था नरहेको क्याम्पस प्रशासनले जनाएको छ।

कोर्ट प्रयोगमा नआएपछि क्याम्पसमा बास्केटबल अभ्यास, प्रशिक्षण तथा आन्तरिक प्रतियोगिता चार वर्षदेखि ठप्प बनेका छन्। विशेषगरी स्नातक तहमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीहरू प्रयोगात्मक कक्षा र अभ्यासबाट वञ्चित भएका छन्। क्याम्पस प्रमुख होमबहादुर बस्नेतका अनुसार पुरानो कोर्ट पूर्ण रूपमा बिग्रिएकाले खेल सञ्चालन गर्न सकिने अवस्था छैन। नयाँ स्थानमा कोर्ट निर्माण गर्ने योजना भए पनि उपयुक्त जग्गा उपलब्ध नभएकाले काम अघि बढ्न नसकेको उनले जानकारी दिए । कोर्ट सञ्चालनमा नआउँदा विद्यार्थीको शारीरिक तन्दुरुस्ती विकास, खेलकुद सीप अभिवृद्धि, अन्तरक्याम्पस प्रतियोगितामा सहभागिता तथा प्रतिभा पहिचानजस्ता गतिविधि प्रभावित भएका छन्। धनकुटा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति युवा तिम्सिनाले खेलकुद अभ्यास नहुँदा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको व्यावहारिक पक्ष कमजोर बन्दै गएको बताए । उनले बास्केटबल अभ्यास र प्रतियोगिताका लागि वैकल्पिक कोर्ट व्यवस्थापन गर्न क्याम्पस प्रशासनले तत्काल पहल गर्नुपर्ने माग गरे।







