
५ बैशाख धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले धनकुटाका पत्रकाहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा सम्पन्न कार्यक्रममा बीमा प्राधिकरणको काम कर्तव्य अधिकार, हालको प्राधिकरणको अबस्था, प्राधिकरणले आगामी दिनमा गर्ने कार्यक्रम लगायतको विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागीहरुले विमा प्राधिकरण नियमन गर्ने निकाय भए पनि प्रभावकारी रुपमा नियमन नगरेको गुनासो गरेका छन । उनीहरुले विमा गर्ने बेलामा चिल्ला कुरा गरेर विमा गर्न लगाउने तर दावी भुक्तानीमा भने विभिन्न बहाना बनाएर अल्झाउने गरेको बताएका छन । जिवन विमा भन्दा पनि निर्जिवन विमा जटिल भएको भन्दै उनीहरुले यस्ता कम्पनीहरुको नियमन गर्न जरुरी रहेको बताए । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले प्राधिकरणले दिने सेवालाई प्रभावकारी रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले सरकारका हरेक कार्यक्रमलाई बीमामा आवद्ध गरी नागरिकको आर्थिक सुरक्षा गरी जीवन यापन सहज बनाउन सकिने भन्दै त्यसतर्फ प्राधिकरण लाग्ने जानकारीदिनुभयो । सरकारले दिगो बीमा नीति बनाई आफ्नो क्षेत्रको जोखिम पहिचान गरी विशेष वर्ग तथा क्षेत्रलाई लक्षित गरी कार्यक्रम तथा योजना निर्माण गर्न सकिने उहाँको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले विमा प्राधिकरणले पहाडी क्षेत्रका नागरीकहरुलाई पनि समान रुपमा हेर्दै विमाको विषयमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम विमा प्राधिकरण कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ धनकुटाको समन्वयमा सम्पन्न भएको हो ।