
- भेडेटार ‘एडभेन्चर टुरिज्म’को नयाँ गन्तव्य बन्दै : स्काइवाकसँगै जेन स्विङ, इलेक्ट्रिक स्विङ र डिलक्स स्विङ सञ्चालनमा आएपछि भेडेटार चिसो मौसम मात्र होइन, रोमाञ्चक अनुभव खोज्ने आन्तरिक तथा भारतीय पर्यटकको रोजाइ बन्न थालेको छ।
- स्विङ पर्यटनले पर्यटकको बसाइँ र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव : दैनिक २५०–३०० जना स्विङ खेल्न आउने गरेका छन्। नयाँ आकर्षणका कारण पर्यटकको बसाइँ एकदेखि दुई रातसम्म लम्बिन थालेको छ, जसबाट होटल, रिसोर्ट, होमस्टे तथा स्थानीय युवालाई रोजगारी र आम्दानीको अवसर बढेको छ।
- प्राकृतिक सौन्दर्यसँग साहसिक गतिविधिको संयोजन : चिसो मौसम, कुहिरो, सूर्योदय र मनोरम दृश्यका साथै स्काइवाक, स्विङ र वरपरका पर्यटकीय गन्तव्य (पाथीभरा, नमस्ते झरना, नाम्जे, काम्फेक आदि) को आकर्षणले भेडेटारलाई पूर्वी नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ।
विदुर खवास
२० साउन,धनकुटा । तराईको ४० डिग्री नजिकको उखरमाउलो गर्मीबाट उम्किएर भेडेटार पुग्ने पर्यटकहरू अहिले चिसो हावा मात्र खोजिरहेका छैनन्। उनीहरू अब रोमाञ्च, नयाँ अनुभव र सम्झनलायक क्षण खोजिरहेका छन्। यही कारण भेडेटारले पछिल्ला वर्षहरूमा आफ्नो पहिचान ‘हिल स्टेसन’बाट विस्तार गर्दै ‘एडभेन्चर टुरिज्म’को गन्तव्यका रूपमा स्थापित गर्न थालेको छ ।
भारतको बिहार, अररिया जिल्लाबाट परिवारसहित भेडेटार पुगेका पंकज मण्डलका लागि यो तेस्रो भ्रमण हो । यसअघि दुई पटक अंग्रेजी नयाँ वर्ष मनाउन साथीहरूसँग आएका उनी यसपटक श्रीमती र छोराछोरीसँग गर्मी छल्न आएका हुन्। “हरेक पटक भेडेटार आउँदा केही न केही नयाँ अनुभव हुन्छ,“ उनी भन्छन्। कोरोना महामारीअघि उनले चाल्र्स प्वाइन्टको भ्यूटावरबाट सप्तकोशी, चारकोसे जंगल र धरानको मनोरम दृश्य नियालेका थिए। अहिले त्यही स्थानमा निर्माण भएको स्काइवाक र त्यससँगै थपिएका साहसिक स्विङ सेटले उनको भ्रमणलाई झन् रोमाञ्चक बनाइदिएको छ ।
“यसपटक जेन स्विङमा झुल्दा साँच्चै फरक अनुभूति भयो। श्रीमती र छोरीले पनि इलेक्ट्रिक र डिलक्स स्विङमा रमाए। यही नयाँपनले फेरि–फेरि भेडेटार आउन मन लाग्छ,“ उनले भने।

भेडेटारको नयाँ आकर्षण : ‘स्विङ पर्यटन’
कुनै बेला सूर्योदय, कुहिरो र चिसो मौसमका लागि परिचित भेडेटारमा अहिले साहसिक मनोरञ्जन पनि थपिएको छ ।
भेडेटारको भ्यूप्वाइन्टमा रहेको भिष्टा लग्जरियस रिसोर्टले सञ्चालनमा ल्याएको जेन स्विङ, इलेक्ट्रिक स्विङ र डिलक्स स्विङ अहिले आन्तरिकसँगै भारतीय पर्यटकको मुख्य आकर्षण बनेका छन्। रिसोर्ट सञ्चालक गोपाल कटुवालका अनुसार दैनिक २५० देखि ३०० जनासम्म स्विङ खेल्न आउने गरेका छन्। तीमध्ये करिब आधा भारतीय पर्यटक हुने गरेको उनको भनाई छ ।

उनका अनुसार एकैपटक तीन जनासम्म झुल्न मिल्ने जेन स्विङका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क लाग्छ । महिलामाझ लोकप्रिय बनेको इलेक्ट्रिक स्विङमा रिसोर्टकै विशेष पहिरन प्रयोग गरे ५०० र आफ्नै पोसाकमा ३०० रुपैयाँ शुल्क लिने गरिएको छ । डिलक्स स्विङमा पनि समान शुल्क व्यवस्था छ । “हामीले पैसा मात्रै लिएका छैनौँ, सेवामा पनि उत्तिकै ध्यान दिएका छौँ,“ कटुवाल भन्छन्।

पर्यटकको बसाइँ लम्ब्याउने रणनीति
भेडेटारमा स्काइवाक, स्विङ, लक्जरी रिसोर्ट, क्याफे र दृश्यावलोकन स्थल थपिँदै जाँदा पर्यटकको बसाइँ अवधि पनि बढ्न थालेको व्यवसायीहरूको अनुभव छ । पहिला केही घण्टा घुमेर फर्किने पर्यटक अहिले एक रातदेखि दुई रातसम्म बस्न थालेका छन्। होटल, रेष्टुराँ र होमस्टे व्यवसायीले यसलाई स्थानीय पर्यटन अर्थतन्त्रका लागि सकारात्मक संकेत देखिएको
सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई बताउछन । यसलाई थप व्यवस्थीत गरि भेडेटारको मात्र हैन सागुरीगढीभित्रका सबै पर्यटकीय स्थलका व्यवस्थीत गर्दै लाने उनको भनाई छ ।

धार्मिकदेखि प्राकृतिक गन्तव्यसम्म एउटै यात्रा
भारतबाट आएका अर्का पर्यटक नामेल पिण्डीत लागि भेडेटारको यात्रा केवल चिसो मौसममा सीमित छैन। उनी भेडेटारसँगै पाथीभरा मन्दिर, नमस्ते झरना, शंख पार्क, नाम्जे र काम्फेक क्षेत्रलाई पनि भ्रमणको नियमित गन्तव्य बनाउने गरेको बताउँछन्।“गर्मी बढेपछि भेडेटार, काम्फेक, कार्किछाप र नाम्जेको वातावरण सम्झना आउँछ । त्यसैले पटक–पटक आइरहन्छु,“ उनले भने।

फोटो–भिडियोबाट थप आम्दानी
स्विङ खेल्दा धेरैले आफ्नो अनुभवलाई सामाजिक सञ्जालमा बाँड्न चाहन्छन्। यही मागलाई अवसर बनाएर रिसोर्टले अतिरिक्त शुल्कमा फोटो र भिडियो सेवा पनि उपलब्ध गराउँदै आएको छ । व्यवसायी गोपाल कटुवालका अनुसार यसबाट स्थानीय युवाले रोजगारी पाएका छन् भने पर्यटकले पनि सम्झनलायक सामग्री प्राप्त गरिरहेका छन्।

हावामा उडेजस्तो अनुभव
धनकुटाका पत्रकार सन्तोष सुवेदीले जेन स्विङको अनुभवलाई शब्दमा व्यक्त गर्न गाह्रो हुने बताउँछन्। “झुल्दा केहीबेर हावामा उडेजस्तो महसुस हुन्छ। रोमाञ्च मन पराउनेका लागि यो उत्कृष्ट अनुभव हो,“ उनले भने।
चिसो मौसमको राजधानी बन्दै भेडेटार
समुद्री सतहबाट करिब १,४२० मिटर उचाइमा रहेको भेडेटार धरानबाट केवल १७ किलोमिटरको दूरीमा छ । तर केही मिनेटको यात्रामै मौसममा आउने परिवर्तन नै यसको सबैभन्दा ठूलो आकर्षण हो । धरानको गर्मीबाट उक्लिएपछि केही घुम्तीमै चिसो हावा, बाक्लो कुहिरो, क्षणभरमै घाम, फेरि वर्षा र इन्द्रेणी देखिने प्राकृतिक दृश्यले भेडेटारलाई वर्षैभरि पर्यटकको रोजाइमा राखेको छ ।
अहिले स्काइवाक, साहसिक स्विङ, स्तरीय होटल, होमस्टे र प्राकृतिक सौन्दर्यको संयोजनले भेडेटारलाई केवल ‘गर्मी छल्ने ठाउँ’ मात्र होइन, अनुभूति संकलन गर्ने गन्तव्यका रूपमा स्थापित गरिरहेको छ । नेपालको पूर्वी पहाडी पर्यटनमा भेडेटार अब मौसमको मात्रै होइन, रोमाञ्चको पनि राजधानी बन्ने दिशामा अघि बढेको देखिन्छ ।

